गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाकाे निजी जग्गाको मुआब्जा वितरण सुरु

title
बिहिबार, असार २८, २०७५

रामहरि न्यौपाने / नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तरगत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा रकम उपलकब्ध गराउन थालिएको छ ।

अन्तराष्ट्रिय राजमार्गको परिकल्पना सहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेशी सडकको अहिले कायम रहेको सडकबाट स्तरउन्नती गर्न सडक आसपासको दायाँबायाँ १५ मिटर भित्रपर्ने जग्गा अधिग्रहण गर्न आयोजनाले मूल्य निर्धारण सहित रकम उपलब्ध गराउन सुरु गरेको हो । जिल्लाको साविक दुईपिपल, रातमाटे र जिलिङमा गाविसमा पर्ने जग्गाधनीलाई चालु आर्थिक वर्षको लागी प्राप्त भएको २५ करोड रुपैयाँ उपलब्ध गराउन थालिएको सडक योजना पक्षले जनाएको छ ।

साविक तीन गाविसमा सडकको सडकको दाँयाबाँया पर्ने एक हजार चार सय ८१ रोपनी जग्गाको लागी चार अर्ब रुपैयाँ भन्दा बढी रकम आवश्यक पर्ने भएकाले बाँकीालाई नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै उपलब्ध गराइने योजना बनाइएको छ ।

जग्गाको मुआब्जा निर्धारण बस्ती विकास भएको स्थानमा एक रोपनीको ५२ लाख रुपैयाँ र बस्ती नभएको स्थानको ४० लाख रुपैयाँ निर्धारण गरिएको छ । सडक विस्तार अन्तरगत गल्छीदेखि स्याफ्रुबेसीसम्म मुआब्जाको लागी दश अर्ब रुपैयाँ भन्दाबढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

‘गल्छी–रसुवागढी’ सडक पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाटहुदै त्रिशूली–रसुवाको मैलुङ्गहुदै स्याफ्रुबेसीबाट चीनको केरुङ प्रवेशद्धार स्थान रसुवागढीसम्म जोड्न ८२ किलोमिटर दुरीको सडक निर्माण भइरहेको छ ।