चाँगुनारायणमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

title
बिहिबार, असार २८, २०७५

केशव तिमल्सिना

भक्तपुर । लगातारको वर्षाले भक्तपुरमाको चाँगुनारायण–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरकोले घर पुरिँदा स्थानीय ७० वर्षीय हिरा लामा उनकी श्रीमती ६५ वर्षीया सानुमाया लामा र साढे २ वर्षकी नातिनी सम्पदा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएको छ । बाढीले खोला आसपासका क्षेत्र डुबानमा परेको छ । भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको छन् ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा बाढी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि स्थानीय बासिन्दाको अवस्था नाजूक बनेको छ ।