जहाँपनि आन्दोलन गर्न पाइदैन– गृहमन्त्री थापा

title
बुधबार, असार २०, २०७५

काठमाडौँ । सरकारले डाक्टर गोविन्द केसीले अधिनायवादी शैलीमा सडकबाट विधि विधान बनाउन खोजेको दाबी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक र राजनीतिक महत्वका विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले लोकतन्त्र विधिको शासन भएकाले आफ्ना मागहरु सोही ढंगले अघि बढाउनुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने उहाले बताउनुभयो ।

जननिर्वाचित प्रतिनिधिसभामार्फत विधिसम्मतरुपमा समस्याको समाधान गरिने भन्दै उहाँले विशेष किसिमका मुद्दा सम्बोधन गर्न सरकारले सदनमा विधेयक ल्याउने जानकारी दिनुभयो । निर्माण व्यवसायी तथा वैदेशिक रोजगारीमा देखिएको ठगीलाई सरकारले छुट नदिने भन्दै सरकारले उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।

उहाले लागू औषध कारोवारीको पहिचान भईसकेको भन्दै कारवाहीको दायरामा ल्याईने बताउनुभयो । गृहमन्त्री थापाले प्राकृतिक विपद्मा क्षति भएकाका लागि क्षतिपूर्ति एवं राहत तत्काल उपलब्ध गराउने निर्णयसहित कार्यान्वयनमा लगिएको जानकारी दिनुभयो ।

उहाले हालैको बाढी पहिरोबाट १८ जिल्लामा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको, आठ जना घाइते र दुई जना बेपत्ता भएको जानकारी गराउनुभयो ।