‘भद्र’ र ‘रुपसी’ चीन सरकारलाई हस्तान्तरण,विशेष जहाजमा चढाएर दुवै गैंडालाई चीन पठाइने

title
बिहिबार, असार २८, २०७५

काठमाडौं । नेपाल सरकारले दुर्लभ एकसिंगे गैंडा चीन सरकारलाई हस्तान्तरण गरेको छ ।

ललितपुरस्थीत राष्ट्रिय प्रकृति संरक्षण कोषमा आज भएको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गर्नुभएको हो ।

चीन सरकारलाई उपहारस्वरुप पठाउनका लागि ‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । चीनबाट आउने विशेष जहाजमा चढाएर ती दुवै गैंडालाई चीन पठाइनेछ ।

गैंडा हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सेना, वन मन्त्रालय, वन बिभाग लगाएत सजग ढंगले संरक्षणमा लागेका कारण दुर्लभ जनावरको संरक्षण संम्भव भएको बताउनुभयो ।

उहाँले जंगली जनावरको वासस्थान सम्बन्धी अनुसन्धानका लागि एकसिंगे गैंडा नयाँ प्रयोगको बिषय हुने धारणा राख्नुभयो । उहाँले नेपाल र चीनबीच भएको सहमति कार्यान्वयन गर्दै लैजाने र दुईदेशबीचको सम्बन्ध सुमधुर पार्दै अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल र चीनको सम्बन्ध सुमधर पार्दै अघि बढिने भन्दै उपहारका लागि नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले नेपालको बिकासका चीनले सधैं सकारात्मक भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।

सरकारले २०७३ असार २६ गते चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि आज एकजोडी गैंडा चीनलाई हस्तान्तरण गरिएको हो । नेपालले अहिलेसम्म विभिन्न देशमा २६ वटा गैंडा उपहार दिएको छ ।

विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ ।