राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

title
मङ्लबार, असार २६, २०७५

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगो ले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले जापानले नेपालको पूर्वाधार निमार्ण, भूकम्पपछिको पुर्ननिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुैभयो । ‘नेपालको भौतिक, आर्थिक, मानव संसाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतको विकासमा सहयोग निरन्तर हुनेछ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो ।

साथै उहाँले बुद्धको जन्मभूमी नेपालमा विशेषगरी जापानंका बुद्ध धर्मालम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूद बनाउन सहयोग पुगेको बताउनुभयो । यसैबीच राजदूत सिगो कुटनीतिज्ञ संगै एक कृषि विशेषज्ञ भएको जानकारीमा आएको बताउँदै उहाँले भन्नुभयो, ‘तपाईंको कृषि क्षेत्रको विशेषज्ञताले कृषिप्रधान देश नेपालले यसको आधुनिकिकरण तथा प्रविधि प्रयोगमा सकारात्मक प्रभाव ल्याउने अपेक्षा लिएको छु ।’

अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीय मैत्री समूह गठन गर्ने जानकारी गराउनुभयो । उहाँले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउन जनता, सरकार र संसदसँग सम्बन्ध चाहेको बताउनुभयो । उहाँले आफू कृषि क्षेत्रको व्यक्ति भएकाले जापानमा प्रयोग भएको कृषि प्रविधिले नेपालमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।