राष्ट्रिय गौरवको आयोजना “बेनी–जोमसोम–कोरला सडक” स्तरोन्नतीमा ढिलाई

title
बिहिबार, असार २८, २०७५

म्याग्दी । १ सय ८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत १ सय १० किलोमिटरको जोमसोम–कोरला खण्डको स्तरोन्नतीमा ढिलाई भएको छ ।

जोमसोम–कोरला सडक खण्डको वि.स २०७३ कात्तिक देखि र ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको कालोपत्रेका लागि वि.स २०७४ असारदेखि काम सुरु भएको थियो ।

पाँच अर्ब बढीको लागतमा चिनको सिमाना कोरला नाका जोड्ने ब्यापारीक महत्वको सडक आयोजनाको ११ वटा प्याकेज मध्ये चार वटा प्याकेजमा ढिलासुस्ती भएको पाइएको आयोजनाको स्थलगत अनुगमनका लागि कोरला नाका पुगेर फर्कनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

जोमसोम देखि कोरला सम्मको सडकलाई दुई लेनको ग्राभेल र बेनी–जोमसोम सडकलाई दुई लेनको कालोपत्रे गर्ने योजना २०७६ मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म करिब पचास प्रतिशतको हाराहारीमा मात्र भौतिक प्रगती भएको छ । भौगोलिक बिकटता, प्रतिकुल मौसम र पर्याप्त बजेटको अभाव आयोजनाको चुनौती भएको अधिकारीहरुले बताएका छन् ।

कोरला नाका सञ्चालनका लागि सरकारले सडक पूर्वाधार निर्माणसगै अन्य तयारी समेत अघि बढाएको छ । हाल कच्चि अवस्थामा रहेको बेनी–जोमसोम–कोरला सडक अन्तरगत विभिन्न १४ ठाउ“मा मोटरेबल पुल निर्माण हुँदैछ ।

धार्मिक पर्यटकीय जिल्ला मुस्ताङ जाने आउने सवारी साधनको चापस“गै निर्माणको काम गर्नुपर्दा समस्या भएपछि बेनी जोमसोम खण्डमा समय तालिका बनाएर स्तरोन्नतीको काम गरिएको छ ।

कालीगण्डकी कोरिडोर सडकको बागलुङ, गुल्मी, रुपन्देही, नवलपरासी खण्डमा समेत ट्याक खोल्ने र सडकको स्तरोन्नतीको काम भैरहेको छ । भारत र चिन जोड्ने नेपालकै छोटो कालिगण्डकी कोरीडोर सडक योजनाको काम सम्पन्न गर्न देखिएका अवरोध समाधान हुनुपर्ने देखिन्छ ।