विज्ञताका आधारमा राजदुत नियुक्त गरिने

title
सोमवार, असार २५, २०७५

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विज्ञताका आधारमा राजदूत नियुक्त गरिने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा उहाले राजदूत नियुक्तिसम्बन्धी मन्त्रिपरिषद्ले स्पष्ट नीति ल्याएको भन्दै पारित निर्देशिकाअनुसार स्वच्छता र विज्ञताका आधारमा राजदूत नियुक्त गरिने बताउनुभयो ।

उहाँले विश्वकै समावेशी र सामाजिक न्यायको दृष्टिकोणले निकै प्रगतिशील नेपालको संविधानको पनि अन्तराष्ट्रियकरण गरिने बताउनुभयो । उहाँले पर्यटन, वैदेशिक व्यापार प्रवद्र्धन, रोजगारी व्यवस्थापन र लगानी प्रवद्र्धनका चार विषयलाई विशेष ध्यान दिएर नेपालको आर्थिक कूटनीति अगाडि बढ्ने बताउनुभयो ।

कूटनीतिक नियोगले मुख्य जिम्मेवारी भनेको व्यापार प्रवद्र्धन नै भएको भन्दै उहाँले त्यसतर्फ ध्यान दिने स्पष्ट गर्नुभयो । उहाँले वैदेशिक रोजगारीको सिलसिलामा हुने उद्धार व्यवस्थापनको मोबाइल एप्समार्फत ट्रयाकिङ् गरेर र कूटनीतिक नियोगमार्फत वैदेशिक रोजगारीको व्यवस्थापन गरिएको बताउनुभयो ।

विदेशस्थित नियोगको पुनरवलोकन गरिने भन्दै उहाँले देशको प्राथमिकताअनुसार ३० वटा दूतावास, छवटा वाणिज्य दूतावासलाई पनि पुनरवलोकन हुने विश्वास दिलाउनुभयो ।