संसदको सम्मान गर्न डा. केसीलाई सरकारको आग्रह

title
सोमवार, असार २५, २०७५

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारले ल्याउन लागेको विधेयकमा नयाँ सहमतिमा पुग्नु पर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि माथेमा प्रतिवेदनका आधारमा नै विधेयक आउने बताउनुभयो । उहाँले कार्यदलले दिएको सुझावका आधारमा चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवाका लागि विधेयकमा नयाँ आयोग गठनको परिकल्पना गरेको सदनलाई जानकारी दिँदै आयोगले नै चिकित्सा शिक्षालाई व्यवस्थित गर्ने उल्लेख गर्नुभयो ।

मन्त्री पोखरलले दश वर्षभित्र काठमाडाँै उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न दिने की नदिने भन्ने कुरा आयोगले नै निर्धारण गर्ने जानकारी दिनुभयो । मन्त्री पोखरेल अध्यादेशका भावना हुबहु नयाँ विधेयक आउन नसक्ने स्पष्ट पार्नुभयो । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गर्दै उहाँले सबैले सार्वभौम संसद्लाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा काँग्रेसद्वारा प्रस्तुत चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याई अनशनरत डाक्टर केसीको जीवन रक्षा गर्न पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल भएको थियो । उक्त प्रस्ताव राख्दै काग्रेस सांसद दीलेन्द्रप्रसाद बडूले शिक्षा र स्वास्थ्य मौलिक अधिकारलाई उपभोग गर्न पाउन् भन्नाका लागि केसीले उठान गरेको मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्न आग्रह गर्नुभयो । त्यस्तै नेकपाका सांसद योगेश भट्टराईले कांग्रेस बचाउन गोविन्द केसीको आवश्यकता परेको टिप्पणी गर्नुभएको थियो । उहाले यसअघि खोलिएका मेडिकल कलेजको बारेमा अध्ययन गर्न समिति गठनको माग गर्नुभयो ।

उक्त प्रस्तावलाई सांसद अतहर मुसलमान र पार्वती डिसी चौधरीले समर्थन गर्नुभएको थियो । सो सार्वजानिक महत्वको प्रस्तावको छलफलमा ४९ सांसदले भाग लिएका थिए ।