संसदीय सुनुवाई समितिको पहिलो बैठक बस्यो, प्रधानन्यायाधिशको सुनुवाई प्रक्रिया शुरु हुँदै

title
मङ्लबार, असार २६, २०७५

काठमाडौँ । लामो रस्साकस्सीपछि यसैसाता गठन भएको संसदीय सुनुवाई विषेश समितिको पहिलो बैठकले समितिको कार्यविधि बनाउन उपसमिति गठन गरेसँगै सुनुवाई गर्ने प्रक्रिया शुरु हुन लागेको हो ।

समितिले आफ्नो कार्यविधि आफै बनाउने कानूनी व्यवस्थाअनुसार जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा पहिलो पटक बसेको बैठकले समितिको कार्यविधी निर्माण गर्न नेकपाबाट २ जना र काँग्रेसका १ जना सांसद रहनेगरी समिति गठन गरेको हो । समितिमा नेकपा सांसदहरु योगेश भट्टराई र शिवकुमार मण्डलसहित काँग्रेस सांसद पुष्पा भुसाल सदस्य छन् । बुधबारसम्म कार्यविधी तयार गर्न समय दिईएको उपसमितिले बैठक सञ्चालनको कार्यविधि तयार गर्नेछ ।

सुनुवाई समितिमा प्रधानन्याधिश नियुक्तीका लागी सुनुवाई गर्न प्रस्ताव आइसकेको छ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेका कामु प्रधानन्ययाधीश दीपकराज जोशीको सुनुवाईका लागी करिब एक महिनाअघि अर्थात् जेठ २९ गते प्रस्ताव पठाएको थियो । समितिको बिहीबार बस्ने बैठकमा कार्यविधी टुङ्गो लाग्ने र प्रधानन्यायाधीश नियुक्तीका लागी सुनुवाई प्रक्रिया सुरु हुनेछ ।

संसदीय सुनुवाई विषेश समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य छन् । संसद नियमावलीमा संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका संवैधानिक निकायका प्रमुख र सदस्यहरुसँगै राजदुतहरुलाई बहुमत सदस्यले अनुमोदन गर्ने र दुईतिहाइबाट अस्वीकृत गर्नुपर्ने प्रावधान छ । संसदीय सुनुवाई समिति गठन हुन नसक्दा प्रधानन्यायाधीशको सुनुवाइ हुन सकेको थिएन । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ ।