‘सञ्जु’को चौतर्फी चर्चा

title
बिहिबार, असार २१, २०७५

काठमाडौं । फिल्म ‘सञ्जु’को यतिखेर चौतर्फी चर्चा छ । फिल्मको व्यवसायिक र समिक्षात्मक पाटो राम्रो भएसँगै फिल्मको चर्चा चुलिएको हो । राजकुमारी हिरानी निर्देशित फिल्मबाट अभिनेता रणवीर कपुरको अभिनयको तारिफ भएको छ ।

यो फिल्म बलिउड अभिनेता संजय दत्तको जीवनीमाथि आधारित छ । संजयले पनि यो फिल्म हेरिसकेका छन् । उनले फिल्म हेरेपछि फिल्ममा जे सत्य छ त्यहि देखाइएको बताए । भारतीय मिडियामा उनले रणवीरको अभिनयको प्रशंसा पनि गरेका छन् । उनले भने ‘रणवीर असाधारण कलाकार हो । फिल्म एकदम राम्रो बनेको छ । राजकुमारी हिरानी, विक्की कुशलको काम राम्रो। फिल्ममा जे देखाइएको छ, ती वास्तविक घट्ना हुन् ।’

यसैबीच, बलिउडको फिल्मी इतिहासमा अहिलेसम्मका सबै रेकर्डहरुलाई भंग गर्दै सञ्जय दत्तको वायोपिक फिल्म ‘सञ्जु’ले नयाँ रेकर्ड कायम गरेको छ । रणवीर कपुरको मुख्य भूमिका रहेको सञ्जुले पहिलो दिनको कमाइमा बाहुबलिलाई पनि पछाडि पारेको छ । सञ्जुले बलिउडको इतिहासमै पहिलो पटक ४६ करोड ७१ लाख कमाएर बाहुबलिको रेकर्डलाई तोडेको हो । यसअघि प्रभासको मुख्य भूमिका रहेको फिल्म ‘बाहुबली’ले ४६ करोड ५० लाखको रेकर्ड कायम गरेको थियो ।

यो वर्ष रिलिज भएका फिल्ममा सञ्जुको ओपनिङ पनि राम्रो देखिएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार सञ्जुले ३४ करोड ७५ लाख कमाएको थियो भने दोस्रो दिन शनिबार ३८ करोड ६० लाख कमाएको थियो । पहिलो दिन भन्दा दोस्रो दिन राम्रो कमाइ गरेको यो पिल्मले तेस्रो दिन अर्थात आइतबार ४६ करोड ७१ लाख कमाएर बलिउड सिने जगतमा नयाँ रेकर्ड कायम गरेको छ ।

त्यस्तै तीन दिनको कुल कमाइमा उसले पद्मावतलाई पछाडि पारेको छ । पद्मावतले तीन दिनमा एक अर्ब १४ करोड कमाइ गरेको थियो भने सञ्जुले तीन दिनमा एक अर्ब २० करोड भन्दा बढीको रेकर्ड बनाएको छ ।

बलिउडका हस्तीहरु आमीर खानदेखि सावना आजमीसम्मले यो फिल्मको प्रशंसा गरिरहेका छन् । अर्का हस्ती सलमान खानले रणवीरको भूमिकालाई लिएर आलोचना गरे पनि दर्शकले त्यो आलोचनालाई अस्वीकार गरिदिएको समीक्षकहरु बताउन थालेका छन् ।

फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि राम्रो कमाइ गरिरहेको निर्माण युनिटले जानकारी दिएको छ । त्यस्तै, सञ्जुले विदेशमा मात्र नभएर नेपालमा पनि दर्शकको राम्रो साथ पाएको छ ।