सुटिङ सेटको पछाडि निलो अर्थात हरियाे पर्दा किन राखिन्छ ?

title
आइतवार, असार २४, २०७५

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा प्रविधिको भरपूर प्रयोग गर्न थालिएको छ । चलचित्र मात्रै होइन म्यूजिक भिडियोमा पनि प्राविधिक पक्ष अब्बल सावित हुँदै गएको पाइन्छ । नयाँ बन्ने हरेक चलचित्रको छायांकन देखि नै प्राधिक पक्षलाई ख्याल राख्दै काम अघि बढाइन्छ ।

सुटिङस्थलमा अगाडि कलाकारहरुले अभिनय गरिरहेका हुन्छन् । त्यसको पछाडि निलो अर्थात हरियो पर्दा राखिएको हुन्छ । कतिपयलाई लाग्दो हो छायांकन हेर्नका लागि दर्शकका लागि छेक्न यस्तो पर्दा राखिएको हुन्छ होला । तर वास्तविकता त्यस्तो कदापि होइन । यो भविष्यका लागि बर्तमानमा सोचिएको एउटा जुक्ति मात्र हो । किनकी चलचित्र दर्शकमाझ आउँदा त्यो पर्दा हटाइएको हुन्छ, त्यहा चलचित्रका कथावस्तुसँग मेल खाने सिनहरु राखिएका हुन्छन् । यसलाई प्राविधिक भाषामा क्रोमा काट्ने भनिन्छ ।

अधिकांश दर्शकले बलिउडमा निकै नै सफल भएको चलचित्र बाहुबली हेरेकै हुनुपर्छ । बाहुबलीको झरना, बढेमानको हात्ती, हातमा बच्चा बोकेर बग्दै गरेको सिनले सबैको मन छोएकै हो । ती सीन देख्दा जो–कोहीको मन आत्तिन्छ नै । तर, यो वास्तविकता भने थिएन । यस्तै क्रोमा गरेर चलचित्रको निर्माण गरिएको थियो । अब सोचौं निलो तथा हरियो पर्दाको कमाल कस्तो हुँदोरहेछ । यो सबै विकसित प्राविधिक पक्षको उपज नै हो ।

अहिले नेपाली चलचित्रमा पनि यस्तो प्रविधिको प्रयोग गरिन थालिएको छ । हाल सम्पादनमा रहेको एउटा नेपाली चलचित्रले पनि यस्तै प्रविधिको भरपूर प्रयोग गरेको छ । चलचित्र नालापानीको एउटा सिनमा पनि यस्तै पर्दा पछाडि राखिएको थियो । पर्दाको अगाडि कलाकारहरु नेपाल–अंग्रज युद्वको अभिनय गरिरहेका छिन् । हातमा खुडा र तलबार बोकेर अंग्रजहरुमाथि जाइलोका कलाकार, त्यसको पछाडि राखिएको हरियो पर्दाले ति कलाकारलाई छोपेको छे । अब चलचित्र प्रदर्शनमा आउँदा त्यो पर्दाको ठाउँमा पक्कै पनि नालापानीको कथावस्तुलाई सुहाउने सिन देखाइने छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सम्पादन भइरहेको छ । सम्पादनसँगै फिल्मको भिएफएक्सको काम पनि एकसाथ चलिरहेको छ । भिएफएक्सको अधिक प्रयोग भएको यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन् ।

नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिइएको यो फिल्म विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ । यो फिल्ममा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।

पद्मा कुमारी फिल्मस प्रा.ली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ ।