स्वास्थ्यकर्मीको आन्दोलनले सर्वसाधारण उपचारबाट वन्चित

title
बिहिबार, असार २८, २०७५

जाजरकोट । दुई सातादेखि जाजरकोट अस्पतालको सेवा अझै सुरु हुन नसक्दा विरामी मर्कामा परेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अस्पतालमा ओपिडी, एक्सरे, ल्याब, खोप लगायतको सेवा अवरुद्ध छ ।

सेवा ठप्प हुदा १ हजार बढी विरामी उपचार सेवाबाट बन्चित भएका छन् । चिकित्सक, पारामेडिसीन र कर्मचारी आन्दोलनमा उत्रिएपछि २ सातादेखि अस्पतालको ओपीडी लगायत सेवा ठप्प भएको हो ।

लामो समयदेखि तलव भत्ता नपाएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी र डाक्टरले अस्पतालको सेवा प्रवाह बहिष्कार गरेका हुन् । उनीहरुले सदरमुकाममा तलब भत्ता नपाएको विरोधमा खलंगा बजारमा प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् ।

साथै आन्दोलनरत स्वास्थ्यकर्मीले तत्काल तलब भत्ता नपाए अस्पतालको आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिंदै प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् ।

गत पुस–माघ देखिको तलब तथा अतिरिक्त सेवा भत्ता नपाएपछि वाध्य भएर आन्दोलनमा उत्रिएको अस्पतालका निमित्त मेडीकल सुपरीटेन्डेण्ट डा. राजेन्द्र लामाले बताउनु भयो ।

चालु आर्थिक बर्षको अन्तिम दिनसम्म पनि सम्बन्धित निकायले तलब भत्ता नखुवाए अस्पतालको आकस्मिक सेवा बन्द गर्ने लामाले चेतावनी दिनुभयो ।

गत बर्षको साउनदेखि स्थानीय तहबाट तलब भत्ता लगायतको निकासा हुने निर्णय भएपछि पटक पटक तलब भत्तामा समस्या भएको हो ।
जाजरकोट अस्पतालका ५७ जना, भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउपालिका अन्र्तगतका स्वास्थ्य संस्थाका १ सय ५० स्वास्थ्यकर्मीले तलब भत्ता पाएका छैनन् ।

अर्थ मन्त्रालयले सशर्त अनुदानको बजेट रकम निकासा नगरेकाले अस्पतालका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले बताउनु भयो । स्वास्थ्य संस्थाका कर्मचारीका लागि गत चैत ५ गते नै नपुग तलब भत्ता रकमको कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत माग गरेपनि निकासा नभएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका जाजरकोट । जाजरकोट अस्पताल र भेरी नगरपालिकाका अन्य स्वास्थ्य संस्थाका चिकित्सक लगाएत स्वास्थ्यकर्मीको तलब, अतिरिक्त सेवा भत्ता, विरामी सिधा खर्च लगाएत शीर्षकका लागि २ करोड १६ लाख नपुग्ने नगरपालिकाले जनाएको छ ।