ब्लग

अपांगलाई हिम्मत दिऔं

Author:बसन्त बस्नेत, काठमाडौं

काँपिरहेको देब्रे खुट्टाले पहिलोपटक ‘लेटर ए’ लेख्ने आइरिस लेखक क्रिस्टी ब्राउन । अल्बर्ट आइन्स्टाइन र आइज्याक न्युटनको इतिहासमा इँटा थप्ने ‘मोटोर न्युरोन’ रोगी बेलायती भौतिकशास्त्री स्टिफन हकिङ, गेम थ्योरी पत्ता लगाउने अमेरिकी गणितज्ञ जोन नास, अल्जाइमर्सविरुद्ध लड्ने बेलायती आख्यानकार अगाथा क्रिस्टी, कुँजोपना परवाह नगरी लेख्ने हाम्री पारिजात ।

उदाहरण जत्ति पनि हुन सक्छन् ।

जस्तो कि, कान्तिपुरको २३औं वार्षिकोत्सव अंकमा ५० भन्दा बढी फरक सक्षमहरू यहाँ प्रस्तुत छन् । दृष्टिविहीनमैत्री ट्राफिक लाइटलगायत दुई दर्जन प्रविधि निर्माण गरिसकेका रमेशप्रसाद दाहाल, ह्विलचियर गुडाउँदै कूटनीति हाँकिरहेका सुशील लम्साल, ह्विलचियरमै हार्मोनियमका पर्दा छोइरहेका लोकगायक खड्ग गर्बुजा, जापानमा प्राध्यापनरत दृष्टिविहीन कमल लामिछाने । उदाहरण जत्ति पनि दिन सकिन्छ ।

शारीरिक अपांगतासँग जुध्दै सफलताको उचाइ छोएका मानिस आज त टाढैबाट चिनिएलान् । तर, शिखर छुने कोसिसमा कति लडे होलान्, धूलो टकटक्याउँदै, फेरि उठ्दै कसरी अग्लिए होलान् † देखिने त सफल वर्तमान हो । नियालेर हेर्दा संघर्षको कहानी अर्कै भेटिन्छ ।

प्रतिभा र क्षमतामात्रै भएर पुग्दैन, आफ्नै खास शारीरिक असक्षमताविरुद्ध त्यसलाई प्रयोग गर्ने हिम्मत नहुँदो हो त, सके आज यी मानिस यो उचाइमा हुने थिएनन् । यो सुन्दर संसार सांगहरूले मात्रै रचेका होइनन् । ती हजारौं अपांग, जसले आफ्नो फरक क्षमता चिने । शारीरिक सीमितता बिर्सेर आफूसँग निहित शक्तिलाई निरन्तर अघि बढाइरहे । यो आजको समय उनीहरूको पनि हिस्सा हो ।

खुट्टाविहीनहरूले पाइला चाल्न सकेनन् त के भो, उनीहरू घस्रिएरै, ह्विलचियरमा बसेरै अघि बढे । दृष्टिविहीनहरूले भौतिक आँखा हेर्न सकेनन् त के भो, आफ्नै अन्तरदृष्टिले संसार चिने । कान नसुन्नेहरूमध्ये कति त्यसै हराए होलान्, तर हिम्मतीहरूले हृदयको आवाज सुने । बोल्न नसक्ने अमुकहरू, सेरेब्रल पाल्सी भोगेकाहरू, हात गुमेकाहरू, पक्षाघातले थलिएकाहरू, मानसिक सुस्ती बेहोरेकाहरू, अरू थुप्रैखाले अपांगहरू : जीवन यत्तिकै बित्ने हो कि भनेर उनीहरू रोकिएनन्, हिम्मत गरे । आफ्नो विशिष्टता चिने, अघि बढे ।

यो त सफलतै सफलताको उचाइ छोएका विख्यातहरूको कथा भयो । तर जीवन सफल मानिसहरूको मात्रै होइन, हुँदैन । तपाईंलाई थाहा छ ? विश्वको १५ प्रतिशत अर्थात् एक अर्बभन्दा बढी जनसंख्या कुनै न कुनै प्रकारको अपांगता भोगिरहेको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट यसै भन्छ ।

आम मानिसका लागि सबैभन्दा प्यारो र सुन्दर चीज उसकै आफ्नो भन्नु एउटा शरीर, एउटा परिवार, एउटा समुदाय, देश हो । र, तिनै आम मानिसबीच कति अपांगहरू होलान् । रोजेर को अपांग भइदेओस् †तर आफ्ना लागि उत्तिकै प्रिय जीवन आत्मसम्मानपूर्वक बाँच्ने हक हरेक सय मानिसमध्ये १५ अपांगको पनि हो ।

नेपाली जनप्रतिनिधिले निर्माण गरेको पहिलो संविधान यसै वर्ष जारी भएको छ । मौलिक हक, राज्यको निर्देशक सिद्धान्तहरूमा अपांगको हक स्थापित त छ, तर त्यसका आधारमा ऐन–नियमावली बन्न बाँकी छ । राज्यको लक्ष्य व्यवहारमा अनूदित नहुँदासम्म पुस्तकका अक्षरले जीवन पाउँदैनन् ।

अपांगहरूलाई राज्यस्तरबाट अवसर र अधिकारको संरचनागत सुनिश्चितता गराउने काम राज्यका निकायहरूको हो । सरकारी निकायले तुरुन्तै यसतर्फ उचित कदम चाल्नैपर्छ । तर सबै कुरा राज्यलाई पन्छाएर हाम्रो नागरिक दायित्व पूरा हुँदैन ।

आफ्नै जीवनको खास–खास अँध्यारोविरुद्ध हरक्षण लडिरहेका त्यस्ता मानिसहरूसँग हामी आफ्नो भावना मिसाइदिऔं । ती फरक सक्षम मानिसहरू, जो तपाईं हाम्रै छेउबाट संकोच मान्दै गुज्रिरहेका हुन सक्छन् । सडक–संस्कृति खासै विकास नभइसकेको हाम्रोजस्तो सहरमा उनीहरू बाटो काट्न नसकेर सेतो छडीले सडक किनारामै टयाकटयाक भुइँ छोइरहेका हुन सक्छन् । आफू पुग्न चाहेको ठाउँ सोध्न नसकेर हडबडाइरहेका, कार्यालयमा निवेदन हाल्न, बिल बुझाउन, सोधपुछ गर्न खोज्दा कर्मचारीको आवाज नसुनेर/नबुझेर टोलाइरहेका, सार्वजनिक यातायातमा सिट र छुट खोजिरहेका, थालको खाना, गिलासको पानी उठाउन नसकेर छटपटिइरहेका ती मानिसहरू : उस्तै मानवीय व्यवहार पाउने अधिकार उनीहरूको पनि हो ।

हामी, हरेक नागरिक उनीहरूका लागि अतिरिक्त जिम्मेवार छौं । हाम्रो सानो मात्रै सहयोग भोलिका आइन्स्टाइन, हेलेन केलर, झमक घिमिरे, ईश्वर अमात्य र यस्ता थुप्रै प्रतिभा जन्माउने आधार बन्न सक्छ । त्यस्तो हुन सकेन भने पनि न्यूनतम मानवीय सम्मान दिलाउने जग त पक्कै बन्छ । संस्कृति भन्नु आखिर हाम्रा दैनिक व्यवहारहरूको समष्टि नै त हो ।

सांगजत्तिकै, अझै त्यसभन्दा बढी क्षमता अन्तरनिहित भएका विलक्षण मानिसहरूले अपांगता भोगिरहेका हुन सक्छन् । हामी तिनलाई साथी बनाऔं । ‘अपांग’ भनी परिवार, समाजबाट अवहेलना भोग्ने यही विशेषांकभित्र समेटिएका थुप्रै अगुवा नागरिकहरू, जो भोलि तिनैका लागि हरेक दिन, छिन सम्झिरहने गौरव बन्न सक्छन् । खाँचो केवल छ, आत्मसम्मान, अधिकार र अवसरको ।

हाम्रो समय, ध्यान र दृष्टिलाई किन यो खासै नहेरिएको, हेरे पनि नदेखिएको पाटोतर्फ नलगाउने ?

कान्तिपुरको २३औं वार्षिकोत्सवको यो विशेष अंक यही एउटा कोसिस हो । आऔं, हामीले परिकल्पना गर्दै गरेको समृद्ध नेपालको अभिन्न हिस्सेदार यिनै फरक सक्षम नागरिकहरूलाई बनाऔं । उनीहरूको अपांगतालाई ग्लानि होइन, हिम्मतसँग जोड्न उत्प्रेरकको भूमिका निर्वाह गरौं । सहानुभूति होइन, सक्दो सहयोग गरौं ।

हामी यो विशेषांक यिनै नागरिकलगायत नाम सुनिएका, नसुनिएका हजारौं हिम्मतीहरूको नाममा सगौरव समर्पण गर्दछौं ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही ब्लगबाट

ताजा