ब्लग

असहिष्णुता, भारतीय प्रजातन्त्र र जेएनयू

Author:हरि रोका, काठमाडौं

बीसौं शताब्दीको अन्त्यतिर आइपुग्दा मभित्र अनुमान गरेभन्दा बढ्ता निराशा थुप्रिएको थियो । विद्यार्थी र पार्टी राजनीतिमा झन्डै अढाई दशक ‘भोलिन्टिएर्ली होलटाइमर एक्टिभिस्ट’ भएर लागेको दलीय राजनीतिबाट म सबै प्रकारले अलग भएको थिएँ । राजनीतिबाट बाहिरिंदा धेरै हिसावले म नितान्त एक्लो थिएँ ।

निरकुंश शासन व्यवस्थाले उपलब्ध गराएको हिरासत, जेल, गैरन्यायिक पिटाइ, आफन्तहरूको हेय दृष्टि र गरिबी आफैंभित्र गुम्सिएका थिए । ‘राजनीति’ मेरो पेसा थिएन । तैपनि केही अघिसम्म पूर्णकालीन राजनीतिकर्मी थिएँ । अब खाइ–जीविकाकै लागि पेसा खोज्नुपर्ने भएको थियो । मनभित्र पढ्न पाए हुन्थ्यो भन्ने भावना जाग्रित भएको थियो । तर कसरी ? सोच्न सकिरहेको थिइनँ ।

यस्तै पृष्ठभूमिमा सन् २००० मा ‘ग्लोबलाइजेसन एन्ड इट्स इम्प्याक्ट्स’ नाम दिइएको एउटा त्रि–दिवशीय अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन केही सहभागीसहित म पनि दिल्ली पुगेको थिएँ । जोसेफ स्टिगलिज, वाल्डन बेलो, जेम्स गेलबर्थ, दिमित्री पापादिमित्रिउ, अमत्र्य सेनजस्ता हस्तीहरूलाई मैले पहिलोपटक त्यही देखेको र सुनेको थिएँ ।

जेएनयूका केही मूर्धन्य प्राध्यापकहरूले पनि कार्यपत्रहरू प्रस्तुत गरेका थिए । त्यही सेमिनारमा मैले मेरा गुरुद्वय प्रभात पटनायक र सीपी चन्द्रशेखरसँग बातचित गर्ने अवसर पाएको थिएँ । त्यतिबेलै दिल्ली र जेएनयूका प्रोफेसर आनन्द कुमार, योगेन्द्र यादव, अरुण मित्रा चेन्वय, शिव विश्वनाथन, बीना अग्रवाल, अरुण कुमार, जयती घोष, जया हुसेन, अमित भादुडीजस्ता हस्तीहरूसँग परिचय हुने मौका मिल्यो । जेएनयूमा विभिन्न ‘फ्याकल्टी’ मा पहिलेदेखि अध्ययनरत साथीहरू मदन कोइराला, अनिल भट्टराई, लेखनाथ न्यौपाने र चित्रबहादुर बुढाथोकीसँग त्यो खुला सेमिनारमा भेट भएपछि मभित्र गुम्सिएको खिन्नता बिस्तारै भाग्यो । पढ्ने लालसा जाग्रित हुन पुग्यो । र, २००१ अगस्तमा शैक्षिक प्रक्रिया पूरा गरेर म विश्वविद्यालय भर्ती हुन पुगें ।
यो म संस्मरण लेखिरहेको छैन, न त भावुक सम्झना नै खोतल्न खोजेको हो । तैपनि केही सम्झनाबाट कुरा खोतल्न खोज्दैछु । जेएनयू चलनको ठीक उल्टो म बिहान छिटो उठ्थें र बेलुका छिटो सुत्थें ।

एक दिन राति ११ बजेतिर ठूल्ठूलो आवाजमा नारा लागेछ । मेरो ‘रुममेट’ स्लोभाक नागरिक रादोभान काराभिचले मलाई उठायो । ऊ अत्तालिएको थियो । उसले मलाई सोध्यो, ‘बाहिर एउटा ठूलो हूल कराइरहेको छ, किन होला ?’ म उठें र ओछ्यानबाटै सुनें, ठूलो सामूहिक स्वरमा ‘मार्छन्–मार्छन्’ भनेजस्तै लाग्यो । अनि उठेर बाहिर सडकमा निस्किएँ । एक हूल साथीहरू सडक बत्तीको मधुरो उज्यालोमा जोसिला नारासहित ‘तानाशाही नही चलेगी–नही चलेगी, इन्क्लाव–जिन्दावाद, फासीवादी हुकुमतविरुद्ध आगो बढो–आगे बढो, डाउन विथ डेस्पोटिजम, जेएनयू छात्र मार्च अन–मार्च अन’ जुलुस निकालिरहेका थिए । जेएनयू–जीवनसँग म बल्ल जानकार हुँदै थिएँ ।

विश्वविद्यालयको नयाँ परिचय
विश्वविद्यालय पुगेको केही दिनभित्रै ‘नाइन–इलेभेन’ अर्थात् न्युयोर्कको ट्विनटावरमा आक्रमण भयो । जर्ज बुसले ‘हानिकारक देश’ हरूको ‘ट्याग्’ केही देशका निधारमा डामिने गरी झुन्ड्याइदिए र आफूलाई सभ्य घोषणा गरे । यसमाथि लामै बहस सुरु भयो । झन्डै प्रत्येक साँझ भात खाइसकेपछि विभिन्न होस्टलहरूमा यी विषयहरूमा सम्बन्धित विद्वान्हरूले आफ्ना मत सार्वजनिक गरे । नवउदारवादी साम्राज्यवादका पक्षधर, समाजवादी पक्षधर, मध्यपन्थी बचाउवादी, धार्मिक तथा वैचारिक तहमा सबै विचार सुन्ने र राति १२–१ बजे सम्मै प्रश्नोत्तरमा भाग लिने अवसर मिल्यो ।

भारतकै भूभाग काश्मीर, उत्तरपूर्वी राज्यहरूका राजनीतिक मुद्दा, मानवअधिकार हनन, भारतभर किसानहरूको आत्महत्या, आर्थिक–सामाजिक वितरण र दरिद्रता, ‘इन्डिया साइनिङ’, ‘डबल डिजिट ग्रोथ’, भुखमरी, जीवन पद्धति, उत्पादन हिस्सा, सरकारी ज्यादती, थिचोमिचो आदिमाथि खुलेर ती रात्रिकालीन बहसहरू हुने गर्थे । र, हामी अफिम्चीझैं साँझ परेपछि बहसमा हिस्सा लिन पुग्थ्यौं ।

तत्कालीन राजा ज्ञानेन्द्रले नेपाली राजनीति आफ्नो हातमा लिएपछि हामी आफैंले पनि स्वतन्त्र विद्यार्थी युनियनको सहयोगमा आधा दर्जन होस्टलहरूमा बहस आयोजना गरेका थियौं । प्रत्येक छलफलमा हजारभन्दा बढी विद्यार्थीहरू उपस्थित भएर हाम्रो स्वतन्त्रता, गणतन्त्र र प्रजातन्त्रको चाहना, विकास पद्धतिजस्ता विषयको बहसमा सहभागी हुन्थे । त्यस्ता बहसहरूमा भाग लिने अवसर पाएर आफू निकै ‘इनलाइटेन्ड’ भएको महसुस गर्थें । कष्टप्रद जीवनमा आनन्दको क्षण थियो त्यो मेरो ।

मैले त्रिविविबाट झन्डै दुई दशकअघि स्नातकोत्तर गरेको थिएँ । त्यसपश्चात् विपक्षी राजनीतिक कार्यकर्ता बनें । त्यस दौरान हामीले बहस होइन, आदेश पालना गर्न सिकेका थियौं । जेएनयू पुगेपछि थाहा भयो– उच्च शिक्षाको महत्त्वपूर्ण सिकाइ भनेको त खुलेर नधकाई प्रश्न गर्न जान्नुहुँदो रहेछ । अवज्ञाकारी हुन बौद्धिक क्षमता आर्जन गर्नुपर्ने रहेछ । त्यसका लागि सत्यमा आधारित कारणसहित तर्कहरूको अन्वेषण आवश्यक रहेछ । भाषामा ‘कमान्ड’ भन्दा विषयमा निपुण महत्त्वपूर्ण कुरा रहेछ ।

शास्त्रीय र नवशास्त्रीय अर्थशास्त्र, उदारवादी र नवउदारवादी राजनीति, प्रजातान्त्रिक–समाजवाद, सोभियत–समाजवाद र युरो–कम्युनिज्म, चिनियाँ समाजवाद र बजार–समाजवाद, लोक–कल्याणकारी राज्य र लेसेजफेयर, मिश्रित र खुला अर्थतन्त्र, ‘एनार्किज्म’, ‘थर्ड–वेभ’, मानव तथा समाजशास्त्र र तिनका अनेकथरी व्याख्या, विविध शास्त्र र शास्त्रीहरूबारे जानकारी लिने अवसर मिल्यो । रोजा लक्जेम्बर्ग, जर्ज लुकास, एन्टेनियो ग्राम्सी, माइकल केलेस्की, कार्ल पोल्यानी, पौल वारान, पौल स्विजी, हिम्यान मिन्स्की, माइकल एलवर्ट, रवर्ट हानेल, अलवर्ट साइदका विचार र कृतिहरूको स्वाद लिने अवसर पाइयो । सयौं संख्यामा अर्थशास्त्री, मानवशास्त्री र तिनका पृथक् वैकल्पिक अर्थ–सामाजिक तथा राजनीतिक विचारबारे जान्ने अवसर त्यो विश्वविद्यालयले उपलब्ध गरायो । एकलकाँटे विचारबाट प्रभावित मेरो दिल–दिमागले यति धेरै वैकल्पिक विचारधारालाई बुझ्न र छान्न पाउनु पुनर्जन्म सरहको अवसर थियो ।

के हो विश्वविद्यालय ? फगत किताबी वा प्राविधिक ज्ञान प्राप्त गर्ने थलो ? त्यतिमात्रै होइन रहेछ विश्वविद्यालय । सबभन्दा पहिलो त डर फाल्ने र सत्यको खोजी गर्ने थलो रहेछ । अहंकार र मिथ्या–अभिमान त्याग्ने ठाउँ रहेछ । आफूवरिपरि ठड्याइने मिथ्या स्वाभिमानको पर्खाल ढालेर बाहिर चिहाउने र अरूसँग स्वस्थ भलाकुसारी गर्ने थलो रहेछ विश्वविद्यालय ।

खोक्रो राष्ट्रवाद त्याग्ने र विश्वसमुदायबीच भाइचारा, ऐक्यबद्धता र स्नेह साट्ने ठाउँ रहेछ विश्वविद्यालय, जहाँ ज्ञान स्वतन्त्र हुन्छ । सबै प्राध्यापक, प्रशिक्षक, विद्यार्थी साथीभाइ कसैले कसैमाथि (स्वदेशी, विदेशी, जातिपाती, धर्म–संस्कृति, उच–नीचको पर्वाह नगरी) भेदभाव र पूर्वाग्रह नगरी वा नराखी शिक्षाको उज्यालो बाँडिदो रहेछ । आफू प्रशिक्षित भएकाले मात्रै होइन, जेएनयू दक्षिण एसियाको विचार उत्पादन गर्ने, वैकल्पिक आर्थिक, सामाजिक वा राजनीतिक, प्राविधिक, कूटनीतिक विषयहरूमा मूलधारको मात्र होइन, विकल्पसहित स्वच्छ बहस छलफल चलाउने वा नयाँ धार खडा गर्ने विश्वविद्यालयका रूपमा चिनिन्छ । यद्यपि त्यस विश्वविद्यालयको स्तर सधैं एकनास रह्यो वा रहनेछ भन्ने दाबी मेरो कदापि होइन, थुप्रै कमजोरीहरू त्यहाँ निहित छन् ।

जेएनयू कल्चर, सहिष्णुता–असहिष्णुता
सन् २००२ को वसन्तमा पुस्तकालयबाट फर्केर कोठाको साँचो खोल्दा विहार र युपीका झन्डै एक दर्जन साथीहरूभित्र पाएँ । उनीहरू बाहिरपट्टिको झ्याल खोलेर पसेका रहेछन् । अनुहारमा ठूलो त्रासदी फैलिएको थियो । नरेन्द्र मोदी मुख्यमन्त्री रहेको गुजरातमा मुस्लिमविरोधी दंगा भड्किएको थियो । अघिल्लो रातदेखि त्यस अपरान्हसम्म हजारभन्दा बढी मारिएका थिए । २४ घन्टाभित्रै हजारौं घाइते भएको र लाखौंको उठीबास भइसकेको रहेछ । जेएनयूभित्र पनि दंगा फैलन सक्ने डरले मुस्लिम समुदायका ती छात्र–छात्रा  ‘विदेशी’ लाई आक्रमण नगर्लान् भनेर हाम्रो कोठामा पसेछन् ।

पहिलोपटक मैले हिन्दु राष्ट्रवादले फैलाएको त्रासबारे बुझ्ने मौका पाएको थिएँ । त्यस बेला दिल्लीमा (केन्द्रमा) अटलबिहारी वाजपेयीको राज थियो । जेएनयूको विद्यार्थी युनियनमा वाजपेयीकै पार्टीको अखिल भारतीय विद्यार्थी परिषद्का प्रतिनिधिले जितेका रहेछन् । युनियन अध्यक्ष म बसेकै सेन्ट्रल होस्टलमा बस्ने हुनाले त्रासदी कोठाभित्रै छिरेको अनुभूति गरेछन् साथीहरूले । केही दिनपछि घटना मत्थर भयो । तर पछिसम्म हाम्राबीच जनसंघीहरूको अतिवादी राष्ट्रवादी दंगा फसादबारे चर्चा भइरह्यो । मुम्बई, अहमदावाद, मुरदावादका घटनाहरूले जर्मनी नाजीवाद र इटलीको फासीवादलाई पनि बिर्साउँदा रहेछन् भन्ने थाहा भयो । दंगामा दलित, आदिवासी, महिला र मुिस्लम अधिकारकर्मीहरूको सिकार गरिंदो रहेछ ।

कथित दक्षिणपन्थी राष्ट्रवादीहरू ती समुदायको राष्ट्रवादमाथि सधैं शंकाले हेर्छन् । जेएनयूको राजनीतिक तथा सांस्कृतिक उद्भव तिनका मान्यताभन्दा पृथक् थिए । जोसुकै उपकूलपति भएर आए पनि उसले राज्यशक्तिको तुजुक देखाएर होइन, विद्यार्थीहरूलाई केन्द्रमा राखेर र ‘फ्याकल्टी’ हरूसँग विश्वास गरेर प्रशासन सञ्चालन हुने/गर्ने गथ्र्यो । सबै आ–आफ्नो क्षेत्रमा रहेर जिम्मेवारीबोध गरेर अगाडि बढ्थे । मतभिन्नतालाई कहिल्यै पनि हिंसाले सल्ट्याउन खोजिन्न थियो र विश्वविद्यालयमा पुलिस भित्र्याउनुपर्ने अवस्था आउँदैन थियो । जतिसुकै तिक्त बहस भए पनि हात हालाहाल हुन्थेन । ‘मनी–मसल्स–मनोपली’ को ठाउँ हुन्थेन र निर्धारित सीमाभन्दा बाहिर कोही जान्थेन । त्यस सहिष्णुतायुक्त मूल्यलाई नै ‘जेएनयू कल्चर’ भनिन्थ्यो ।

माथि भनिएझैं वैकल्पिक आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक बहस गर्ने–गराउने थलोको रूपमा विकसित हँुदै आएको थियो त्यो विश्वविद्यालय । अर्को शब्दमा– विचार निर्माणको एउटा महत्त्वपूर्ण केन्द्र तथा निरपेक्षताको बहसको केन्द्र नै थियो जेएनयू । काश्मीरदेखि प्यालेस्टाइनसम्म, इजरायलदेखि अमेरिकासम्म, साउदीदेखि इन्डोनेसियासम्म फ्रान्सेली समाजवाददेखि थ्याचरको कन्जरभेटिज्मसम्मका बहस हुँदा त्यस्तो बहस र विचारको केन्द्र बाबहुल–बहस र विचारका विपक्षीका नजरमा जेएनयू पहिलादेखि नै बिझाइरहेको आभास हुन्थ्यो ।

अघिल्लो साता १२ फेब्रुअरीमा जेएनयू विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमारलाई अराष्ट्रिय तत्त्वको अभियोग (सेडिसन चार्ज) लगाएर मोदी प्रशासनले मुद्दा दर्ज गरेको छ । काश्मीर आजादीको मुद्दा मात्र होइन, मणिपुर र नागाल्यान्डको मुद्दा जेएनयूमा एकेडेमिक बहसमा सदैव आइरहने गर्छ । ती प्रदेशसँग गाँसिएर आउने संघर्षशील व्यक्तिहरूलाई फाँसी दिंदा जेएनयूमा सधैं एकथरीले विरोध जनाउने गर्छन् । जुनसुकै मुलुकमा तानाशाही राज थोपरिंदा जनसंघर्षमा ऐक्यबद्धताको नारा लाग्छ । यी विरोधका स्वरलाई अरू सरकारहरूले  विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकारको रूपमा ग्रहण गर्थे तर मोदी सरकारले स्विकारेन । आफ्नो विद्यार्थी नेतामाथिको सुनुवाइ सुन्न गएका शिक्षक–विद्यार्थीमाथि अदालत परिसरभित्रै सत्तारूढ भाजपाका कार्यकर्ता, नेता र वकिलहरूले दिउँसो २ बजेको उज्यालोमा सयौं पत्रकारहरूको सामुन्ने हूल–हुज्जत र हातपाई गरे ।

गएको वर्ष भारतीयहरूले निकै आदर गर्ने बुद्धिजीवी तथा ‘एक्टिभिस्ट’ हरू जस्तो नरेन्द्र दाभोल्कर, गोविन्द पान्सरे र एमएम कालबुर्गीको हत्या गरियो । हत्याको छानबिनमा सरकार उदासीन भएपछि सयौं लेखक, कलाकारहरूले ‘अवार्ड वापसी’ (इनाम, अलंकार र मानपदवी फिर्ता) अभियान चलाए, जो अझै चलिरहेको छ । ती हत्याकाण्डलाई प्राज्ञहरूले राजनीतिक हत्याका रूपमा लिएका छन् । केही साताअघि हैदरावाद विश्वविद्यालयमा ‘रिसर्च स्कलर’ का रूपमा रहेका रोहित भेमुलाको ‘आत्महत्या’ भयो । त्यो आत्महत्याको वातावरण तयार गर्नमा भाजपाको विद्यार्थी संगठन र स्वयं उपकूलपतिको संलग्नता रहेको आरोप लाग्यो । खोजबिनको घोषणा गरिए पनि तदारुकता नदेखिएको विपक्षीले आरोप लगाइरहेका छन् ।

केही दिनअघि अग्रज पत्रकार तथा हिन्दू दैनिकका पूर्वसम्पादक सिद्धार्थ बद्र्धराजनलाई भाजपा समर्थक कार्यकर्ताहरूले इलाहावाद केन्द्रीय विश्वविद्यालय परिसरमै हूलहुज्जत गरे र नक्सलवादी र अराष्ट्रिय तत्त्वको आरोप लगाउँदै बोल्न निषेध गरे । यो साता जेएनयूका आठ विद्यार्थीमाथि राष्ट्रद्रोहको अभियोग (बेलायती शासनकालको कानुन टेकेर) लगाएर तिनका अध्यक्षलाई जेल चलान गरिएको छ । नोम चोम्स्कीलगायत संसारभरिका चार सयभन्दा बढी प्राज्ञहरूले सरकारी क्रियाकलापको विरोधमा हस्ताक्षर गरेर भारत सरकारलाई पठाएका छन् । तर त्यो विज्ञप्ति प्रकाशित भएको केही घन्टा नबित्दै बुधबार पनि भाजपा समर्थक वकिलको कालो कोट लगाएर आएका गुन्डाहरूले अदालत परिसरमै प्रहरीको रोहवरमा हिरासतमा रहेकै अवस्थामा अध्यक्ष कन्हैया कुमारलाई भकुरेका छन् ।

असहिष्णुताको यो पराकाष्टा हो । जेएनयू स्टुडेन्ट युनियन र सम्पूर्ण भारतीय विद्यार्थीहरूमाथि सरकारी भिजिलान्तेहरूको ज्यादतीको भत्र्सना गर्नैपर्छ । तिनको संघर्षमा ऐक्यबद्धता जाहेर गर्नैपर्छ ।
मोदी नेतृत्वका यी ‘अच्छे दिन’ र संसारको ठूलो लोकतन्त्रको धज्जी उडाउने क्रियाकलापलाई भारतीय जनताले कसरी सम्झने हुन्, हेर्न केही समय पर्खनैपर्ने हुन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही ब्लगबाट

ताजा