ब्लग

निष्ठाका नायक

Author:जीवा लामिछाने, काठमाडौं

रातको ११ बजिसकेकाले म सुत्ने तरखरमा थिएँ । नेपालबाट अशुभ खबर आएको भनेर केही साथीले फोन गरे । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला रहनुभएन भन्ने खबर थियो । मनले पत्याउनै मानेन । सामाजिक सञ्जाल र अनलाइन पोर्टल ‘लग–इन’ गर्दा केही सूचना पाउन सकिनँ । नेपालमा बिहान भइसकेको छैन । राति किन कसैको निद्रा भंग गर्ने भन्ने लाग्यो ।

सुनेको कुरा असत्य भइदेओस् भनेर कामना गर्नु बाहेक मसँग विकल्प थिएन । सुशीलदाका निजी सचिवसमेत रहेका भतिज अतुल कोइराला रूसमै अध्ययन गरेर फर्केका मेरा नजिकका मित्र हुन् । तर उनलाई फोनमा तिम्रो काकाको मृत्यु भएको हो भनेर सोध्ने ममा आँट आएन । फेरि मलाई प्राप्त भएको सूचना गलत पनि त हुनसक्छ ।

केही साथीलाई नेपालमा फोन लगाएँ । तर त्यति बेलासम्म बिहानको तीन बजिसकेको रहेछ । कसैले फोन उठाएनन् । फेरि अनलाइनमै आँखा डुलाउन थालँें । पहिलो पोष्ट, सेतोपाटी, कान्तिपुर लगायत अनलाइनले त्यो अशुभ समाचारको पुष्टि गरिसकेका थिए । आखिर जे नहोस् भन्ने मेरो चाहना थियो, त्यही भयो । मेरो कामना पुरा भएन । सुशीलदासँंग बेलाबखत विभिन्न कार्यक्रममा भेट भए पनि म गैरआवासीय नेपाली संघको अध्यक्ष भएका बेला नजिकबाट चिन्ने अवसर पाएको हुँ ।

एकदमै कम बोल्ने र अरूका कुरा सुन्ने बानी थियो, उहाँको । नयाँ बन्ने संविधानमा गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था सुनिश्चित गर्नुपर्ने हाम्रो मागप्रति उहाँ सधैं सकारात्मक हुनुहुन्थ्यो । बरु अरू केही शीर्षनेतालाई यो विषय बुझाउन निक्कै कठिन भएको थियो । फेरि नेताहरूको भनाइ र गराइमा अन्तर हुने गर्छ । कतिपय मुद्दा सस्तो लोकप्रियताका लागि त कति कुरापछि जस लिने प्रयोजनका लागिमात्र बोलिएका पनि हुन्छन् । तर, गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने विषयमा उहाँ सधैं दृढ र अटल रहेको पाएको थिएँ ।

दुई वर्षभित्र संविधान बनाउने जनादेश पाएको पहिलो संविधानसभाले म्याद चार वर्ष थप गर्दा पनि संविधान दिन सकेन । देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेसको कार्यवाहक सभापति हुनुहुन्थ्यो, सुशीलदा । तर त्यो चुनावमा उहाँ आफैं बाँकेबाट पराजित हुनुभएको थियो । सादा जीवन, सदाचार, नैतिकताको बलमा राजनीति गरिरहेका सुशीलदाका लागि चुनाव जित्नु र हार्नु ठूलो कुरा थिएन । लोकतन्त्रमा यदाकदा इमानदार नेतालाई समेत जनताले जिताउँदैनन् भन्ने कुराको गतिलो उदाहरण सुशीलदा आफैं हुनुहुन्थ्यो । २०४८ सालको संसदीय निर्वाचनमा जित्नुभयो, ०५१ मा हार्नुभयो । फेरि ०५६ मा जित्नुभयो, ०६४ को संविधानसभामा हार्नुभयो । अनि ०७० को चुनावमा जित्नुभयो ।

उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘जीवा बाबु, सधैं चुनाव त तानाशाहले मात्र जित्छ । म त लोकतन्त्रका लागि लडेको मान्छे, बीपीको प्रजातान्त्रिक समाजवादका पक्षमा जीवन समर्पण गरेको मानिस चुनाव हारेकोमा मलाई चिन्ता छैन । तर दलहरू जनतामाझ गरेको प्रतिबद्वता बमोजिम संविधान बनाउन गम्भीर भएनन् । पुरा गर्नै नसक्ने आश्वासन दिएर चुनाव जित्नुको के अर्थ ?’

हाम्रा हरेक भेटमा उहाँ भन्नुहुन्थ्यो, ‘तपाईंहरू पनि एउटा ठूलो शक्ति हो । बाहिर चर्को कुरा गरे पनि अन्य दलहरू संविधान बनाउन गम्भीर भएनन् । सम्झाउनुस् । संविधान बनाउन दलहरूमाथि चौतर्फी दबाब दिन आवश्यक छ भनेर उहाँले भनेको म बिर्सन सक्दिन । नभन्दै पहिलो संविधानसभा संविधान दिन नसकेर स्वत: विघटन भयो । साढे ६ दशकको अन्तरालमा देशका आधा दर्जन संविधान बने । तर पनि आफ्नो संविधान आफैं बनाउने जनचाहना पुरा हुन नसकेकोमा उहाँको गहिरो चिन्ता थियो । त्योभन्दा पनि नेताहरूले झुटा आश्वासन बाँड्ने होडबाजीले लोकतान्त्रिक पद्धति नै कमजोर हुन्छ भन्ने चिन्ता उहाँमा पाउँथेँ म ।

संविधानसभा विघटनपछि दलहरूले सुशीलदालाई प्रधानमन्त्री बनाउने सहमति गरे । तर त्यसपछि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतले मधेसी दलका नेताहरूलाई उकास्ने अभिव्यक्ति दिएपछि सुशीलदाले भारतीय राजदूतलाई झपारेर पठाएको समाचार सार्वजनिक भयो । कुनै नेपाली नेताले राष्ट्रियताको पक्षमा त्यसरी अभिव्यक्ति दिनु चानचुने कुरा थिएन ।

पहिलो संविधानसभामा पहिलो दल एमाओवादी र तेस्रो दल एमालेका दुइटा सरकार बनिसकेका थिए । दोस्रो ठूलो दलको सभापतिका हैसियतमा उहाँको अध्यक्षतामा सरकार बनाएर चुनावमा जाने एउटा विकल्प बाँकी थियो । तर पनि सायद त्यही कारणले होला, उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन ।

प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गैरराजनीतिक दलको चुनावी सरकार बनेपछि उहाँले चितवन क्षेत्र नं ४ बाट उम्मेदवारी दिएपछि स्वाभाविक रूपमा मेरो सद्भाव उहाँप्रति रहने नै भयो । निर्वाचनको बेला म मस्को फर्किसकेको थिएँ । तर फोनमा कुरा गरेको थिएँ । उहाँको राष्ट्रवादी छवि बनेको थियो । प्राय: हरेक भेटमा उहाँ बीपीको सपना पुरा गर्ने भन्नुहुन्थ्यो । बीपी, गिरिजाबाबुले मुलुक र प्रजातन्त्रका लागि गरेको संघर्ष र योगदानका कुरा सुनाउनुहुन्थ्यो । अझ भन्ने हो भने बीपीको प्रजातान्त्रिक समाजवादलाई जीवन पद्धति बनाउनुभएको थियो, उहाँले ।

बीपी हँुदै गिरिजाबाबु पार्टी र सरकारको नेतृत्वमा हुँदा उहाँ शक्तिको केन्द्रमा हुनुहन्थ्यो । धेरै नेताले पद र पैसाका लागि आफूले जीवनभर कमाएको इज्जत प्रतिष्ठा दाउमा लगाएर राजनीतिलाई नै बदनाम गरे । तर सुशीलदाले कहिल्यै सत्तालाई प्राथमिकता दिनुभएन । गिरिजाबाबु र किसुनजी दुवैले परराष्ट्रमन्त्री र उपप्रधानमन्त्री बन्न गरेको आग्रहलाई उहाँले अस्वीकार गर्नुभयो । सत्ता र राजनीतिलाई धन आर्जन गर्ने माध्यम बनाउनुभएन । राजनीतिमा सफलता चुम्ने साम, दाम, दण्ड, भेदमात्र चाहिन्छ भन्ने मान्यता हाम्रोजस्तो विकासोन्मुख मुलुकका बढी पाइन्छ । तर त्याग, सत्य, निष्ठा, इमानदारिता र नैतिकताको बलमा पनि राजनीतिक सफलता चुम्न सकिन्छ भन्ने मान्यता उहाँले स्थापित गर्नुभयो ।

धेरै लामो तर्क र वक्तव्यबाजीमा उहाँले कहिल्यै विश्वास गर्नुभएन । कुनै विषयमा लामो बहस गर्ने बानी थिएन । न त भाषण नै बुझ्न सकिन्थ्यो । त्यागी, भद्र, सरल, अनुशासित, दृढ, आत्मविश्वासी व्यक्तित्व नै उहाँको राजनीतिक जीवनको सफलता हो । एक वर्षभित्र संविधान दिएर सत्ता छाड्ने वचनका साथ उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । एक त आफ्नो रुग्ण बिरामी शरीर, त्यसमाथि उहाँकै कार्यकालमा विनाशकारी भूकम्प, बाढी—पहिरोजस्ता प्राकृतिक विपत्ति आइलागे । भूकम्पका बेला त्यस्तो प्रतिकूल अवस्थामा समेत दाता सम्मेलन आयोजना गरी झन्डै चार खर्ब सहयोगको प्रतिबद्धता प्राप्त गर्नु चानचुने कुरा थिएन ।

संविधानसभाका साढे दुई दर्जन दललाई समायोजन गरेर संविधानका विषयवस्तुमा सहमति जुटाउने काम कम चुनौतीपूर्ण थिएन । फेरि उहाँमाथि आफ्नै पार्टीको दबाब छँदै थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रको दबाब झेल्दै संविधान जारी गर्ने कामको नेतृत्व गर्नु उहाँको राजनीतिक जीवनको सर्वाधिक उचाइको विन्दु थियो । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘सान्दाइले संविधानसभाका लागि त्यति ठूलो संघर्ष गर्नुभयो । राजाको षड्यन्त्रले संविधानसभा बन्न पाएन । जसरी पनि संविधानसभाबाट संविधान बनाउन सकियो भने समय अनुकूल संशोधन गर्दै जान सकिन्छ ।’ अरूका कुरा धैर्यतापूर्वक सुन्ने, जस्तोसुकै दबाब आए पनि सहन सक्ने, लोभलालच नराख्ने उहाँको व्यक्तित्वकै कारण संविधान ल्याउने ऐतिहासिक काम सम्भव भएको हो ।

संविधानसभाबाट संविधान जारी गर्ने काम बीपी, पुष्पलाल, गणेशमान, किसुनजी, गिरिजाबाबु र मनमोहनजीको कार्यकालमा पुरा हुनसकेको थिएन । सुशीलदाले आफ्नो प्रधानमन्त्रीकालमा संविधान जारी गरेर आफ्नो राजनीतिक उचाइ सगरमाथाको चुचुरोमा पुर्‍याउनुभएको थियो । जीवनभर सत्ता र शक्तिका लागि आशक्ति देखाउनुभएन । तर अन्तिम समयमा दलहरूबीच भएको सहमति तोडेर उहाँ किन फेरि प्रधानमन्त्रीको चुनावमा जानुभयो ? सगरमाथाझैं चुलिएको उचाइलाई किन जमिनमा झार्नुभयो ? बुझ्न सकिनँ । मलाई लाग्छ, दोस्रो पटकको चुनाव लड्ने दुर्भाग्यपूर्ण निर्णय नगरेको भए नेपालको इतिहासमा विशिष्ट राजनेताको रूपमा उहाँको नाम स्थापित हुने थियो ।

निष्ठाका नायक सुशीलदाप्रति हार्दिक श्रद्धासुमन !

लामिछाने गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही ब्लगबाट

ताजा