ब्लग

[सम्झना] नबनेकी ‘फर्स्ट लेडी प्राइम मिनिस्टर’

Author:आन्विका गिरी, काठमाडौं

फाल्गुन १५, २०७२- १७  साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेर बीपीलाई जेल हालिसकेपछि शैलजा आचार्य निकै चिन्तित भइन् । उनको मुख्य चिन्ता भनेकै सान्दाजु (बीपी) लाई राजाले मार्छन् भन्ने नै थियो । दुई तन्नेरीहरू शैलजा र तेजप्रकाश सिटौला बीपीको पक्राउपछि हातले लेखेका पर्चा बाँड्न थाले ।

उनीहरू रञ्जना गल्लीमा दिउँसोको शो सकिएपछि मान्छेहरूको हूलमा मिसिएर पर्चा बाँड्थे । ठ्याक्कै के लेखिन्थ्यो भन्ने कुरा सम्झनामा नभए पनि सिटौला आफूले हातले लेखेर पम्प्लेट बाँडेको बारे बताउँछन् ।

‘त्यस बेला रञ्जना सिनेमा हल प्रमुख भीडभाडसँग चल्थ्यो अनि हामी के गथ्र्यौं भने ठ्याक्कै त्यो सिनेमा जुन बेला खुल्छ, छेउमा बसिरन्थ्यौं लुकेर, सिनेमाबाट गुटुटु मान्छे आउँथे । अनि हामी निहुरिँदै तलतल पम्पलेट फ्याँकिदिन्थ्यौं । त्यसपछि हामी तिनै मान्छेसँग भाग्थ्यौं,’ सिटौला सम्झिन्छन् । उनी त्यसरी पर्चा लेख्ने र बाँड्ने काम फागुन ६ गतेसम्म चलेको बताउँछन् ।

पर्चा लेख्दालेख्दै शैलजा अर्को घटनाको तयारीमा पनि थिइन् जसको चर्चा उनले सिटौलासँग गरेकै थिइनन् । अघिल्लो दिनसम्म पर्चा लेखेर सँगसँगै देश, प्रजातन्त्र र बीपीको चिन्ता गरिरहेका सिटौला फागनु ७ गते टुँडिखेलमा शैलजाले राजा महेन्द्रलाई कालो झन्डा देखाएको खबर सुनेर आश्चर्यचकित भए ।

तर, शैलजाको साहसमा उनलाई कुनै शंका थिएन । सिटौलासँग छलफल नगरे पनि आदर्श बालिका विराटनगरकी आफ्नी जुनियर मीनकुमारी जोशीलाई भने शैलजाले कालो झन्डा देखाउने समूहमा राखेकी थिइन् ।

‘म राजनीतिक परिवारको मान्छे होइन, उनीहरूले हात उचालेर नारा लगाए, झन्डा देखाए । म केही बोलिनँ । भीडमा उभिएँ मात्र । त्यसैले म पक्राउ परिनँ । वास्तवमा मलाई कसैले नोटिस पनि गरेन,’ ७२ वर्षे जोशी सम्झिन्छन् । शैलजासँगै नोना कोइराला, कुन्दन शर्मा, विजया बराल, गौरी राणाहरू पक्राउ परे ।

शैलजाको साहस समयक्रममा उनको नामको पर्यायका रूपमा जोडिएर आयो । बीपी आफैंले ‘जेल जर्नल’ मा शैलजाहरूको साहसले अचम्मित भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कसरी शैलजा, उसकी साथी विजया बराल र अन्य युवकहरूले ठीक सलामीको मञ्चअगाडि प्रदर्शन गरे, कसरी जिन्दावादको नारा लगाए, कसरी सलामी ग्रहण गरिरहेका व्यक्तिहरू हतप्रभ भए, कसरी प्रदर्शनकारीहरूलाई नराम्रोसँग व्यवहार गर्दै लगे, कसरी ती यावत् कुराहरू भए ?

हजारौं संगीनधारी सैनिकहरूले घेरिएर राखेको त्यो सुरक्षित स्थलमा जहाँ देशको किलाबन्दीको एक मात्र केन्द्र आफ्नै पुरुषार्थको सलामी लिइरहेका थिए । यो एउटा बडो साहसको कार्य थियो, जुन साहसलाई महान् लक्ष्यका निम्ति मानिसले जीवनमा कहिलेकाहीँ मात्र प्रदर्शित गर्छ’ उनी शैलजाहरूको यो साहसबाट कतिसम्म प्रभावित र अचम्मित भएका थिए भने उनले आफैंलाई प्रश्न गरेका छन्, ‘के ममा त्यो साहस छ, जुन साहस ती युवक युवतीहरूले त्यहाँ देखाए ?’

बीपीका यी कुरालाई ध्यान दिने हो भने एउटी किशोरीका रूपमा शैलजाले उठाएको त्यो कदम कति जोखिमपूर्ण थियो भनेर सहजै अनुमान लाउन सकिन्छ । प्रधानमन्त्रीका रूपमा पक्राउ परेका बीपीलाई समेत जेलमा बस्ने खासै राम्रो प्रबन्ध नभएको उनले जेल जर्नलमा पटक–पटक उल्लेख गरेका छन् भने शैलजाहरूलाई राखिएको जनाना जेलको बसाइ त झन् कष्टपूर्ण थियो । तर शैलजा कति जब्बर थिइन् भने तमाम दु:खका बाबजुद उनी आफ्नो राजनितीक आकंक्षा हुर्काइरहेकी थिइन् ।

जेलबाट छुटिहाल्नुपर्ने अनुमान गलत साबित भएर झन्डै तीन वर्षसम्म लम्बिएको कारवास जीवनले शैलजा कमजोर भएर निस्किइनन्, बरु प्रजातन्त्रका लागि झन् सशक्त भएर राजनीतिमा जमेर लाग्ने अठोटका साथ बाहिर आइन् ।

विराटनगरकी शान्ता घिमिरे शैलजालाई जेलमा भेट्न गएको स्मरण गर्दै भन्छिन्, ‘शैलजा भेटघाटको अन्त्यसम्म कहिल्यै नबस्ने । ऊ नेताले जस्तो हात हल्लाउँदै बीचबाटै गइदिने । ए शैलजा के गरेको भन्दा ऊ ‘फस्र्ट लेडी प्राइम मिनिस्टिर अफ नेपाल’ भन्दै हात हल्लाउँथी,’ उनी भन्छिन् ।

१७/१८ वर्षकी शैलजामा त्यो महत्त्वाकांक्षा ! सायद बीपीको प्रभाव हुनुपर्छ । त्यो समयमै उनले भावी प्रधानमन्त्रीका लागि आफूलाई तयार पार्न थालेकी थिइन् । त्यो केवल राजनीतिक कैदीको कारागार रोमाञ्चकता मात्र थिएन भन्ने कुरा शैलजाको पाँच दशकको सक्रिय राजनीतिले देखाउँछ ।

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना देखेको आधा शताब्दीपछि शैलजा आफैं यो संसारमै रहिनन् । वर्तमान राजनीतिको केन्द्रलाई हेर्दा महिला प्रधानमन्त्री बन्ने सम्भावना निकै कमजोर छ । राष्ट्रपति पद सेरोमोनियल नभएको भए विद्या भण्डारीले पहिलो महिला राष्ट्रपतिको इतिहास बनाउन पनि सजिलो हुन्थेन होला ।

शैलजाले यो सामाजिक, राजनीतिक चरित्रलाई आँकेकी थिइन् तर समाजशास्त्रकी विद्यार्थी शैलजाले सामाजिक, राजनीतिक संरचनालाई सधैं चुनौती दिइन् । पहिलो महिला प्रधानमन्त्री हुने आकांक्षा पनि त्यही संरचनालाई चुनौती थियो ।

गिरिजाबाबु र किसुनजीको सम्झाइ
जेलबाट छुटेपछि शैलजाको जीवन निर्वासन, बीपीको सान्निध्यता, जेल, प्रजातन्त्रका लागि संघर्षको वरिपरि घुम्यो । प्रजातन्त्र पुन:स्थापनापछि बनेको पहिलो निर्वाचित सरकारमा उनी कृषि र वन तथा भू–संरक्षणमन्त्री भइन् ।

कृषि मन्त्रालयमा रासायनिक मलको कमिसनमा प्रधानमन्त्री, आफ्नै पार्टी र प्रतिपक्ष कसैको सहयोग नपाएपछि राजीनामा दिन बाध्य शैलजा त्यसको केही समय चुप बसिन् ।

२०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस आफ्नो अलोकप्रिय सरकारका कारण दोस्रो ठूलो दलमा खुम्चिन पुगेको थियो । एमाले सबैभन्दा ठूलो पार्टी बन्यो तर बहुमत नभएका कारण उसको सरकार नौ महिनामै गिर्‍यो ।

त्यसपछि कांग्रेसले अन्य दलसँग मिलेर सरकार बनायो जसको प्रधानमन्त्री शेरबहादुर देउवा भए । देउवाको ठाउँमा शैलजा हुन सक्थिन् तर संसदीय दलको नेता चुन्ने ताका कांग्रेसमा भएको राजनीतिक दाउपेचमा उनको ‘पेच’ खुकुलो भयो ।

उनी पनि संसदीय दलको नेताकी आकांक्षी थिइन् तर कांग्रेसको राजनीतिमा चलखेलकै दबदबा बढी थियो जुन सायद शैलजाले अभ्यास गरेकी थिइनन् ।

चुनावी परिणाम कमजोर आउनु, कांग्रेसका नेताहरूलाई भ्रष्टाचारको दाग लाग्नु आदि कारणले गिरिजाप्रसाद कोइराला कमजोर थिए र नैतिक रूपमा संसदीय दलको नेता र पार्टी सभापति दुवै पद लिन उनका लागि अप्ठेरो थियो । तथापि कांग्रेसमा गिरिजाप्रसादको साथ नलिईकन अघि बढ्न सम्भव थिएन ।

त्यसैले सशस्त्र क्रान्तिका नायक भूविक्रम नेम्बाङले त्यतिखेर आरएसएस भनेर चर्चामा रहेका रामचन्द्र, शैलजा र शेरबहादुर तिनैलाई गिरिजाप्रसाद हुन्छन् भने ठीक छ, हैन भने म छु भनेर आफूलाई अघि सार भनेर दिएको जुक्ति शेरबहादुर मात्रले अनुसरण गरे ।

नेम्बाङ सम्झन्छन्, ‘शैलजा आफूले स्वत: पाउनुपर्ने दाबी गर्थिन्, जुन राजनीतिमा सम्भव हुने कुरै होइन,’ आफूले गरेको योगदान र आफू सबैभन्दा वरिष्ठ भएकाले अरू स्वत: उनको पक्षमा आउनुपर्ने ‘हठ’ शैलजाको थियो । रामचन्द्र पौडेललाई सभामुख दिने भएपछि उनी यो खेलबाट बाहिर निस्किए तर शेरबहादुरसँगसँगै गोविन्दराज जोशी, खुमबहादुर खड्काजस्ता अरू आकांक्षीहरू मैदानमा देखिए ।

कुनै बेला शैलजाका सहयोगी रहेका उमेश गिरी शैलजालाई संसदीय दलको नेता बन्न नदिन खुमबहादुर खड्कालाई उचाल्न विराटनगरबाट काठमाडौं गए । गिरी ०५१ र ०५६ सालको निर्वाचनमा शैलजाविरुद्ध बागी बनेर उठेका थिए ।

गिरीलाई शैलजाका विरुद्ध गिरिजाप्रसादले प्रयोग गरेको आरोप लाग्ने गरेको छ जसलाई उनी अस्वीकार गर्छन् । गिरीले उचालेर आफूले संसदीय दलको नेतामा उम्मेदवारी दिएको कुरालाई खुमबहादुर खड्का सरासर गलत भन्दै गिरिजाप्रसाद नै शैलजालाई संसदीय दलको नेता हुन नदिने प्रमुख कारक रहेको बताउँछन् ।

भन्छन्, ‘मलाई त तिमी ४१–४२ वर्षमै प्रधानमन्त्री भएर के गर्छौ भनेर सीधै हकार्नु भयो, मैले शैलजालाई हो भने म छाडिदिन्छु भन्दा शैलजा हुँदैन, शैलजा हुँदैन भनेर भन्नुभयो ।’

नेपाली कांग्रेसको इतिहासमा बीपीपछि जसले जतिसुकै कसरत गरे पनि गिरिजाप्रसाद हुन्जेल उनले अरू कसैको जोर चल्न दिएनन् । पार्टीमा सबैले सम्मान गरे पनि गिरिजाप्रसादलाई सीधै चुनौती दिन सक्ने अवस्था शैलजाको थिएन । पार्टीभित्र उनको कुनै गुट थिएन ।

उनी पटक–पटक आफूलाई एक्लो बृहस्पतिका रूपमा प्रस्तुत गरिरहन्थिन् । खड्का भन्छन्, ‘बाहिरका मान्छेका लागि उनी कोइराला परिवारकी सदस्य थिइन् तर कोइराला परिवारले उनलाई आफ्नो उत्तराधिकारीको रूपमा कहिल्यै लिएन । यो नै शैलजा दिदीका लागि उहाँको पूरै राजनीतिक जीवनभर सबैभन्दा अप्ठेरो कुरा थियो ।’

पारिवारिक कारणले उनी गिरिजाप्रसादको विरुद्धमा जान सक्तिनथिन् । आफूलाई मामाको सहयोग नहुने, कृष्णप्रसाद भट्टाराईको झुकाव पनि शेरबहादुर देउवाप्रति र आफूभन्दा कनिष्ठ पनि आफूविरुद्ध लड्न तयार भएपछि उनी संसदीय दलको नेताको दौडबाट पछि हटिन् ।

शैलजाका राजनीतिक सहयोगीका रूपमा काम गरेका विजय कोइराला ‘गिरिजाबाबु र किसुनजीले सम्झाएपछि मैले छाडिदिएँ’ भनेर शैलजाले आफूसित भनेको सुनाउँछन् । शैलजा पछि हट्नेबित्तिकै नाटकीय ढंगबाट क्रमश: सबैले उम्मेदवारी फिर्ता लिए र शेरबहादुर देउवा सर्वसम्मत संसदीय दलको नेता बने ।

देउवाका लागि प्रधानमन्त्रीको ढोका खोलेको यो घटनाले क्रमश: पहिलो महिला प्रधानमन्त्री बन्ने शैलजाको आकांक्षा भने फिका बनाउँदै लग्यो ।
गिरिजाप्रसादले शैलजाको निधन भएको दिन उनका लागि आफूले केही गर्न नसकेको भावुक अभिव्यक्ति त दिए तर उनले नसकेको हो कि नचाहेको हो शंकास्पद छ । शैलजाको नाम आउँदा गिरिजाप्रसादले किन हुँदैन भने ? कांग्रेसीहरू खुलेर यस विषयमा अझै पनि केही बताउन चाहँदैनन् ।

बीपीको मानस उत्तराधिकारी र गिरिजाको वंशज उत्तराधिकारी भनेर शैलजा र सुजाता कोइरालालाई दुई धारमा सञ्चारमाध्यममा प्रस्तुत पनि गरियो । बीपीको अनुपस्थितिमा गिरिजाप्रसादको झुकाव आफ्नो वंशज उत्तराधिकारीतिर ढल्कँदै जानु र शैलजा राजनीतिबाट किनारा लाग्दै जानु कांग्रेसको राजनीतिमा एउटा संयोग मात्र हो त ?

आफ्नो जीवनको उत्तराद्र्धमा जसरी गिरिजाप्रसादले पुत्रीमोह प्रदर्शन गरे र सुजाताका लागि ठाउँ सुरक्षित गर्न खोजे त्यो देख्दा गिरिजाप्रसादको भावुकता शंकाको घेरामा पर्छ तर यो प्रश्नको जवाफ आज पनि कांग्रेसी नेताहरू ‘अफ द रेकर्ड’ नै राख्न चाहन्छन् । शैलजाको मृत्युपश्चात् पनि उनका लागि खुलेर बोलिदिने मान्छे कांग्रेसभित्र पाउन कति मुश्स्किल रहेछ भन्ने थाहा पाउँदा म साह्रै निराश भएँ ।

ज्ञानेन्द्रको अफर
तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम भन्दै शासन सत्ता आफ्नो हातमा लिएपछि दलहरू प्रतिगमनविरुद्धको आन्दोलन लिएर सडकमा पुगेका थिए । कांग्रेसले अरूको एजेन्डा बोकेको र बीपीको मेलमिलाप नीतिको पार्टी आफैंले अनादर गरेको भनेर शैलजा प्रतिगमनको आन्दोलनमा सहभागी भइनन् ।

उनले राजाको कदमको विरोध त गरिन् तर आन्दोलनमा कांग्रेसको वामपन्थी दलसँगको सहकार्य उनलाई स्वीकार्य थिएन ।

बलदेव मजगैयाँले आन्दोलनको नेतृत्व लिन गरेको आग्रहलाई उनले सरासर नकारिनन् मात्र सञ्चारमाध्यममा आन्दोलनको विरुद्ध अभिव्यक्ति पनि दिइन् ।

तिनताका तत्कालीन राजा ज्ञानेन्द्र निस्कलंक छवि भएको व्यक्तिलाई प्रधानमन्त्रीको ‘अफर’ गरिरहेका थिए र माधव नेपालहरूसमेत निष्कलंकको प्रमाणपत्र ज्ञानेन्द्रबाट लिन उद्यत थिए ।

यस्तैमा पत्रकार किरण पोख्रेललाई तत्कालीन ज्ञानेन्द्र सरकारका वनमन्त्री बद्री बस्नेतले राजाले शैलजालाई भेट्न चाहेको खबर गरे । पोख्रेल भन्छन्, ‘मैले निकै भूमिका बाँधेर शैलजा दिदीलाई राजासँग भेट्न कुनै समस्या छ कि भनेर सोधे ।

उहाँले कुरा गर्न कुनै समस्या छैन भन्नुभयो,’ बद्री बस्नेत यो कुरा स्विकार्दै भन्छन्, ‘कुरा आएको हो । मैले नै गएर भेटेर पनि भनेको हो,’ बस्नेत मोरङ जिल्ला सभापति हुँदा शैलजाले सचिव भएर काम गरेकी थिइन् । एकै जिल्लाका र पार्टीमा सँगै काम गरेकाले पनि बस्नेतलाई शैलजासँग कुरा गर्न सजिलो भयो तर शैलजाका आफ्ना केही अडान थिए ।

उनी हाम्फालेर जाने खालकी मान्छे थिइनन् । उनी गिरिजाप्रसाद कोइराला र पार्टी केन्द्रीय कमिटीसँग सल्लाह गरेर भेट्न जान चाहिन्थन् । उनी भेटपछि राजासँग भएका संवाद पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न चाहन्थिन् ।

उनी राजालाई औपचारिकताका लागि पनि कुनै भेटको बिन्तीपत्र चढाउन चाहन्थिन् जुन दरबारको परम्परा थियो । आफैंले भेटका लागि इच्छा राखे पनि भेटका लागि अनुरोधको औपचारिकता निभाउनुपर्ने कुरा शैलजाका लागि मान्य थिएन् । पोख्रेल भन्छन्, ‘शैलजा दिदी त राजालाई आफूलाई भेट्न बोलाउनुको कारण सोध्नेवाला हुनुहुन्थ्यो ।’

राजाको दर्शनभेटका लागि खुट्टा उचालेर बसिरहेकाहरू माझ दरबारबाट स्वयं रुचि लिएको बेला पनि शैलजाले आफ्ना अडान अघि सारिन् । उनका यी सर्तहरू दरबारसम्म पुगेपछि राजासँग भेट्ने कुरा सेलायो । र, शैलजाका लागि देशको पहिलो महिला प्रधानमन्त्री बन्ने अवसरहरू पनि यहीँ आएर टुंगिए ।

र, अन्त्यमा
कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै जाँदा आज चारथरीका महिलाहरू महाधिवेशनमा प्रतिस्पर्धाका लागि अघि आएका छन् । सुजाता कोइरालाहरू नेतृत्वसँग ‘बार्गेनिङ’ गरेरै आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन् ।

डिना उपाध्यायहरू जो अब महिला कोटाबाट बाहिर आएर लड्ने उद्घोष गरेका छन् । लक्ष्मी खतिवडाहरू जसले कांग्रेसका लागि दुई दशक दिइसके, तिनीहरू सडकमा छन् । र, एकथरी पर्दामा देखा परेका छैनन्, तिनीहरू पर्दापछाडि विभिन्न नेताको कोटरीमा आफ्नो स्थानको लागि लबिङ गरिरहेका छन् ।

शैलजा कांग्रेसमा यस्ती महिला थिइन् जसले आफूलाई महिलाभन्दा व्यक्तिका रूपमा सधैं अघि सारिन् । पार्टीमा र सरकारमा रहँदा पनि उनले आफूलाई व्यक्तिका रूपमा प्रस्तुत गर्दै प्रतिस्पर्धामा उत्रिइन् । पार्टीकी पहिलो महिला उपसभापति उनले आफ्नै बुतामा प्राप्त गरिन् । राष्ट्रिय राजनीतिका विषयमा सैद्धान्तिक बहसका लागि उनी सधैं तयार हुन्थिन् ।

राष्ट्रिय मुद्दामा आफ्नो धारणा राख्न सक्ने महिला कांग्रेसमा अहिले कति जना छन् ? शैलजाको अवसानसँगै यो प्रश्नको ध्वनि चर्को छ तर के कांग्रेसमा कसैलाई यो प्रश्नले बिझाएको छ ?

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही ब्लगबाट

ताजा