अर्थ / वाणिज्य

उपभोक्ताको ढाड सेक्दै जीओ अटोमोबाइल्स, फोर्ड गाडीबाट यसरी हुँदैछ छुटका नाममा लुट

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालिले फोर्डको गाडी विक्रि गर्दा उपभोक्ताबाट अस्वाभाविकरूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा जीओ अटोमोबाइल्स प्रालिले ईको स्पोर्ट फोर्ड १ दशमलव ५ पेट्रोल गाडीमा लागतभन्दा बढी मूल्य लिएको भेटिएको छ । विभागका महानिर्देशक कुमार दाहालका अनुसार, कम्पनीले वास्तविक मूल्यमा अतिरिक्त शुल्क लिई उपभोक्तालाई छुटको भ्रम छर्ने गरेको पाइएको हो ।

विभागले अनुगमनपछि उक्त कम्पनीले बेच्ने गरेका सवारी साधनको मूल्य बढ्नुको कारणसहित ३ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो । कम्पनीका प्रबन्धक तेजकरण जैनले बिहीबार विभागमा आएर गाडीको मूल्य वृद्धिको कारणका सम्बन्धमा स्पष्टीकरण दिए पनि मूल्य बढ्नुको कारण खुलाउन नसकेको महानिर्देशक दाहालको भनाई छ ।

यस्तो छ जीओ अटोमोबाइसको अनियमितता
विभागका अनुसार, इको स्पोर्ट फोर्ड १ दशमलव ५ लिटर पेट्रोल गाडीको कर तथा फाइदा सहितको जम्मा मूल्य २२ लाख ५८ हजार २ सय ९२ रुपैयाँ पर्छ । तर, जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडी २४ लाख ८६ हजार ७ सय २५ रुपैयाँमा बिक्री गर्ने गरेको छ । यो कम्पनिले दिएको ३ लाख ३६ हजार २ सय ८३ रुपैयाँ छुट सहितको मुल्य हो । यसलाई हेर्दा एउटा इको स्पोर्ट गाडीमा कम्पनीले ग्राहकसँग २ लाख २८ हजार ४ सय ३२ रुपैयाँ बढी लिइएको देखिन्छ ।

यसरी हुँदै छ छुटका नाममा लुट
वास्तविक बिक्री मूल्य २२ लाख ५८ हजार दुई सय ९२ रुपैयाँ पर्ने फोर्ड कम्पनीको इको स्पोर्ट चार पांग्रे सवारीसाधनमा जैनले पाँच लाख ६४ हजार चार सय १६ रुपैयाँ थप गरी उपभोक्ता बिक्री मूल्य २८ लाख २२ हजार सात सय आठ रुपैयाँ कायम गरेको विभागको भनाई छ । विभागका अनुसार यसरी २८ लाख २२ हजार बिक्री मूल्यबाट जैनले ३ लाख ३६ हजार दुई सय ८३ छुट दिएर २४ लाख ८६ हजारमा १.५ लिटर पेट्रोल मोडेलको एचआर ६४६०० इन्जिन नम्बर भएको इको स्पोर्ट मोडेलको गाडी सोमबार बिक्री गरेको बिल नम्बर ७५७ बाट फेला परेको छ ।

‘छानबिनको क्रममा वास्तविक मूल्यमा एकै पटक पाँच लाखसम्म थप मूल्य जोडेर त्यसमा तीन लाख छुट दिएको भेटिएको छ । महानिर्देशक दाहालले भने जीओ अटोमोबाइल्सले उपभोक्तासँग छुटको नाममा ठगी गरेको यसबाट प्रस्ट हुन्छ । यता जीओ अटोमोबाइल्सका कार्यकारी निर्देशक आकाश गोल्छाले कुनै वस्तु तथा सेवाको खरिद र बिक्री मूल्यमा देखिने मार्जिन (ग्रस प्रोफिट) मा अलग–अलग खर्च समावेश हुने गरेको तथा सो शुल्कसमेत जोडेर गाडी बिक्री गर्दा आएको नाफा (नेट प्रोफिट) मात्र कम्पनीले लिने गरेको दाबी गरे ।

कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठहर्‍याइने उल्लेख गरेको छ । तर, सो कम्पनीले भने विज्ञापन खर्च, प्रशासनिक खर्चलगायत फरक–फरक शीर्षकमा शुल्क लिएको पाइएको विभागले जानकारी दिएको छ । ऐनअनुसार माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद छ र जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ ।

कम्पनीले बेच्ने गरेका गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिएको अनुगमन र प्रारम्भिक चरणको बयानबाट देखिएको विभागले जनाएको छ । विभागले उक्त कम्पनीलाई के कति कारणले मूल्यमा फरक भएको हो ३ दिनभित्र लिखित जवाफ पेस गर्न दोस्रोपटक निर्देशन दिएको छ । दोस्रो चरणको स्पष्टीकरण विभागलाई चित्त नबुझेको खण्डमा अनुगमनका क्रममा भेटिएका कैफियतबमोजिम ठगीको मुद्दा दर्ताका लागि प्रहरीको जिम्मा लगाउने विभागको तयारी छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. Dr Meraj Alam Ansari says:

    I request sagarmatha TV to initiate for these kind of illegal activities done by big automobile distributers. We, the buyers, are the victims of their hike price…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा