अर्थ / वाणिज्य

गुणस्तर चेकजाँचका नाममा भारतीय पक्षले अवरोध गर्दा चिया निकासी ठप्प

झापा । पूर्वी नाका काँकरभिट्टा भएर निर्यात हुने तयारी चिया गुणस्तर चेकजाँचका नाममा भारतीय पक्षले पुनः अवरोध गरेको छ । प्रयोगशाला परीक्षणमा कडाई गरेपछि नेपालमा उत्पादित तयारी चियाका ट्रक भारतीय भन्सारमै अड्किएका छन् ।
पूर्वी नाका काँकरभिट्टा भएर भारत र तेस्रो मूलुक पठाइएका नेपालमा उत्पादित अर्थोडक्स तथा सीटीसी तयारी चियाका ११ वटा ट्रक भारतको पानीट्यांकी भन्सारमा एक सातादेखि अड्केका छन । भारतले खाद्य सुरक्षामा कडाई गर्दै प्रत्येक ट्रकका नमुना कोलकातास्थित सेन्ट्रल फुड ल्याबबाट परीक्षण गराउँनुपर्ने प्रावधान राखेपछि मेची भन्सारको ‘यार्ड’ मा समेत चियाका तीन वटा ट्रक अलपत्र अवस्थामा छन । यसअघि ६ महिनामा एक पटक परिक्षण गराएर लैजाने गरिए पनि अहिले भने प्रत्येक ट्रकको नमुना परीक्षण गराउन भनिएपछि समस्यामा परेको इलामको फिक्कलस्थित त्रिशक्ती पाथिभरा चिया उद्योगका सञ्चालक खेमराज अर्यालले बताउछन् ।
पूर्वको झापासहित इलाम, पाँचथर लगायतका जिल्लामा उत्पादित तयारी चियाको पहिलो लट निकासी हुने क्रममा थियो । तर, चिया उत्पादनको मुख्य समयमा नै तयारी चिया भारत जान नसकेपछि चिया उद्योगहरूले किसानबाट हरियो पत्ती खरिद गर्न समेत छाडेका छन् । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्याल नेपाली उत्पादनमा गुणस्तरको प्रश्न उठाएका कारण भारतसँग कूटनीतिक तहमा कुराकानी भएमा मात्र समस्या समाधान हुने बताउँछन ।
भारतले यसअघि पनि विभिन्न समयमा नेपाली अदुवा, अलैंची लगायतका नगदेबाली निर्यातमा विभिन्न बहानामा अवरोध पुर्याएको थियो । पछिल्लो समय नेपाली तयारी चियाको लोगो लागू भएर तेस्रो मुलुकमा नेपाली चियाको माग बढेको अवस्थामा भारतीय अवरोधले पूर्वका चिया किसान, उद्योगी र व्यवसायीलाई निराश बनाएको छ । नेपालको पूर्बी क्षेत्र पाँचथर, इलाम, झापा, तेह्रथुम र धनकुटामा ब्यवसायीक रुपमा चिया खेती हुँदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा