अर्थ / वाणिज्य

चनाखो बन्नोस्, कतै नक्कली नोटले फन्दामा परिएला 

काठमाडौं १२ बैशाख । बेला बखत बजारमा नक्कली नोटको चर्चा चल्ने गर्छ । प्राय भारतीय नक्कली नोटको कारोबार बढी हुने गरेको पाइए पनि अहिले नेपाली नक्कली नोटहरु बजारमा भेटिन थालेको चर्चा छ । त्यो पनि हजार र पाँच सय दरका नक्कली रुपैयाँ । केही दिन अघि पोखरामा नक्कली तथा जाली नोटहरू भेटिए पछि यसतर्फ सबैको चासो बढेको हो ।

गत शुक्रबारसम्ममात्र नेपाल राष्ट्र बैङ्क, पोखरा शाखामा ९१ ओटा नक्कली नोट सङ्कलन भइसकेको बुझिएको छ । राष्ट्र बैङ्कको पोखरा शाखामा एकैदिन १० ओटासम्म नक्कली नोट आएको बताइएको छ। नक्कली नोट कारोबारीहरुले सर्वसाधारणलाई झुक्याएर नक्कली नोटहरु भिराउने र उनीहरुले थाहा नपाएरै बैंकसम्म पुग्ने गरेको पाइन्छ । तर, बैंकले नक्कली भएको प्रमाणित गरेपछि बल्ल आफू फसेको उनीहरुले पत्तो पाउने गरेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवातास खेल्ने ठाउँमा यस्तो नोटहरु बढी मात्रामा प्रयोग हुने गरेको हुँदा सजक हुन समेत बैंकले आग्रह गरेको छ । नक्कली नोटबाट जोगिनका लागि अपरिचित व्यक्तिसँग कारोबार नगर्ने, ठूलो कारोबार नगर्ने, भीडभाडमा सतर्क रहनेलगायत सावधानी अपनाउन सकिन्छ । त्यस्तै ठूलोमात्रामा कारोबार गर्नुपर्ने भएको खण्डमा बैङ्किङ च्यानलबाट गर्नुपर्नेमा बैंकहरुले सुझाएका छन् ।

बैंकका अनुसार अहिलेसम्म भेटिएका नक्कली नोटहरु हेर्दा काजग कमसल खालको, चिप्लो र लुलो रहेको पाइएको छ । बैङ्किङ च्यानलमा नक्कली नोट पत्ता लगाउने प्रविधि हुनुका साथै सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्ने गरिन्छ । तर आम सर्वसाधारणले यसको पत्तो नपाउने हुँदा नक्कली नोट छुट्याउनका लागि कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छाप रहेको विषयमा पनि विशेष ध्यान दिनुपर्ने बैंकको भनाइ छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा