अर्थ / वाणिज्य

तनहुमा शुरु भयो आलु खेती

तनहु, २२ फागुन । तनहुँका कृषकहरुलाई राष्ट्रिय आलु वाली विकास केन्द्र खुमलटारले सिफारिस गरेको जनकदेव आलुको विऊ वितरण गरी आलु खेती गरिएको छ । स्याङजाको तुल्सिभञ्ज्याङ्ग आलु विउ उत्पादक किसानहरु मार्फत बुटवलको कोल्डस्टोरबाट ल्याइएको विऊ वितरण गरिएको हो ।

कृषि र सिंचाई विकास डिभिजन कार्यालय तनहुँको रोहवरमा आलुको विउ उत्पादक कृषकहरु र यस जिल्लामा व्यववसायिक रुपमा आलु खेती गर्न इच्छुक सिंचाई तथा जलश्रोत व्यवस्थापन आयोजनाबाट हालै विस्तृत मर्मत सुधार भई बाह्रै महिना सिंचाई सुविधा पुगेका क्षेत्रका कृषक समुहहरु र समुदायलाई लक्षित गरी आलु खेती कार्यक्रमलाई अगाडि बढाइएको सिंचाई डिभिजन कार्यालय तनहुँका प्रमुख हरिदत्त पौडेलले जानकारी दिनुभयो ।

दुवै कार्यालयले संयुक्त रुपमा कृषकहरुलाई आयमुलक र व्यवसायिक कार्यक्रमहरु अगाडि बढाउँदा कृषकहरु उत्साहित भएका छन् । सिंचाई सुविधा भएका फाँटहरुमा आलुखेती गर्न अनुदानमा बिऊ तथा आवश्यक प्रविधिको ज्ञान दिंदा निर्वाहमूखि खेतीलाई छाडि व्यवसायिक रुपमा अगाडि बढ्ने उत्साह बढेको कृषकहरुको भनाई छ ।
जिल्लामा आलु खेती विस्तारका लागि प्रतिकेजी ५७ रुपैयाँमा आलुको बिउ खरिद गरिएकोमा कृषकहरुले प्रतिकेजी २७ रुपैयाँ अनुदान उपलब्ध गराई ३० रुपैयाँमा बिउ खरिद गरी खेती गरेका छन् । आलु खेती प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालय तनहुँले ५ लाख ४३ हजार ८ सय रुपैयाँ र सिंचाई विकास डिभिजनले ६ लाख २८ हजार रुपैयाँ गरी ११ लाख ७१ हजार ८० रुपैयाँमा ४३० क्वीन्टल आलुको विउ खरिद गरिएको थियो ।

कार्यक्रमको पहिलो चरण अन्तरगत घिरिङ सुन्धाराको नयाँटार, गजरकोटको गढीझौरीटार, भुल्के कुलो, अत्रौली पुट्टार, श्याम्घाको विलमाधे मूलापानी, भानुमतीको सेराफाँट, भानुको भानुवराह, चुँदी वराह, चुँदीखोला सिंचाई योजना अन्तरगतका कृषकहरुले समुह तथा व्यक्तिगत रुपमा आलु खेती गरेका छन् । यी फाँटहरुमा गरिएको आलु खेतीबाट यस वर्ष करिब २२० टन आलु उत्पादन हुनेछ ।  उत्पादित आलुको बजारीकरणमा  सरोकारवाला निकायले समन्वय गर्नेछन् ।

जिल्लामा सिंचाई योजना सञ्चालन भएका स्थानहरुमा आधुनिक रुपमा आलु खेती गर्न जिल्ला कृषि विकास कार्यालय, सिंचाई विकास डिभिजन र आईपीएम एशोसियशनले संयुक्त रुपमा ६ स्थानमा १६ हप्ते कृषक पाठशाला सञ्चालन गरी उत्प्रेरणा दिंदै आएका छन ।

विषयगत कार्यालय तथा गैर सरकारी संघ संस्थाहरुले कृषकलाई लक्षित गरी कार्यक्रम तथा योजना सञ्चालन गर्दा संयुक्त रुपमा अगाडि बढाउँदा सञ्चालन, व्यवस्थापन, कृषिको आधुनिकीकरण, वजारीकरण, बैकिङ्ग लगायतका सुविधालाई एकीकृत गरी योजनाको दीगो व्यवस्थापन र कृषकको जीवनस्तरमा सुधार ल्याउने सरोकारवालाको अपेक्षा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा