अर्थ / वाणिज्य

यो बर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण

काठमाडौ,२४ कात्तिक । अघिल्लो बर्षको तुलनामा यो वर्ष करिब तीन लाख मेट्रिक टन बढी धान उत्पादन हुने प्रक्षेपण सार्वजनीक भएको छ ।

कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको तथ्यांकअनुसार गत वर्ष ५२ लाख ३२ हजार टन धान उत्पादन भएको थियो । बाढी पहिरोका कारण धान खेत नराम्ररी प्रभावित भएपनि यो वर्ष ५५ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले अनुमान गरेको छ । तराईका विभिन्न जिल्ला र केही हिमाली तथा पहाडी जिल्लामा धानको उत्पादन बढेको हो ।

कतैकतै असिना पानीले धान झारेको भएपनि समग्रमा धान उत्पादन पाँच वर्ष यताकै उच्च हुने मन्त्रालयले प्रक्षेपण गरेको छ । कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाका अनुसार चांडै मनसुन सुरु भएका कारण समयमा नै धान रोप्न पाएकाले धान उत्पादनमा नयाँ रेकर्ड कायम हुन लागेको हो । केही स्थानमा प्रतिकूल अवस्था भएपनि यस पटक धान उत्पादन बढी हुनुको पछाडि मनसुनको सहजता तथा सरकारले अगाडि सारेको कृषि जोन कार्यक्रम प्रमुख रहेको मन्त्रालयले जनाएको छ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३१ प्रतिशत छ । कृषि उपजमा धानको हिस्सा सबैभन्दा बढी रहेको सहप्रवक्ता सापकोटाको भनाइ छ । धान उत्पादन बढेपनि धानको मूल्य अझै तोकिएको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा