अर्थ / वाणिज्य

१० वर्षपछि चमेलियाबाट बिजुली उत्पादन शुरू

दार्चुला, ७ मंसीर । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १ सय ३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रभाव भएको आयोजनाले जनाएको छ ।

सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै १० वर्षपछि आजदेखि प्रसारण शुरु भएको हाे।

आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो । प्रसारण लाइनमा प्रयोग भएका टावर, तार लगायतका अन्य संरचना नछुन आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ । एक सय १ सय ३१ किलोमिटर लामो सो प्रसारण लाइनमा कूल ४ सय १२ वटा टावर रहेका छन् ।

सन् २००७ मा निर्माण शुरु गरी सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सो समयमा काम सम्पन्न हुन नसकेपछि उक्त समयसिमा सन् २०१७ को डिसेम्बर पुर्याइएको थियो । चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण शुरु भएको १० वर्षपछि बिजुली बलेको हो ।

चमेलिया जलविद्युत् आयोजनाको शुरुको अनुमानित लागत ८ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म रु १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ । आयोजनाको सिभिलतर्फको काम सन् २००७ मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट शुरु गरिएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा