अर्थ / वाणिज्य

दसैका लागि २० हजार भेडाच्याङ्ग्रा निकासी

म्याग्दी, १२ असोज । दसैका लागि यस वर्ष मुस्ताङबाट बिस हजार भेडाच्याङग्रा निकासी भएको छ ।

म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा मुस्ताङबाट १४ हजार भेडा र ६ हजार च्याङग्रा निकासी भएको जिल्ला पशु सेवा कार्यालय मुस्ताङले जनाएको छ ।

निकासी भएका मध्ये ९० प्रतिशत भेडाच्याङग्रा मुस्ताङका कृषकले पालेको र बाँकी दश प्रतिशत डोल्पा तथा तिब्बतबाट आयात गरिएका रहेका कार्यालयका पशु चिकित्सक आईत थकालीले जानकारी दिनुभयो ।

भेडा प्रतिगोटा १५ हजार र च्याङग्रा २० देखि ३० हजारको हाराहारीमा बिक्री भएको थियो । भेडाच्याङग्रा बिक्री गरेर मुस्ताङका कृषकहरुले यसपाली तिस करोड रुपैया भन्दा बढी आम्दानी गरेको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १३ हजार भेडा र ८ हजार च्याङग्रा निकासी भएको थियो ।

स्वास्थ्य परिक्षण गरि स्वस्थ्य भेडाच्याङग्रा मात्र निकासी गरिएको पशु चिकित्सक थकालीले बताउनुभयो । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायीक रुपमा भेडाच्याङग्रा पालन गर्दै आएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अर्थ / वाणिज्य बाट

ताजा