मनोरञ्जन

दर्शक घटे ओस्करमा

गत आइतबार साँझ मात्रै आफ्नो ८८ औं संस्करण पूरा गरेको एकेडेमी अवार्ड (ओस्कर) संसारकै ठूलो र भव्य अर्वाड सेरेमोनी मानिन्छ । सन् १९२९ देखि निरन्तर आयोजना हुँदै आएको ओस्करले जति प्रतिष्ठा कमाएको थियो, यसपटक रंगभेदी विवादका कारण केही ह्रास आउन गयो ।

लगातार दुई वर्ष ओस्कर मनोनयनमा काला जातिका कलाकार ‘नपारिएको’ आरोप लगाउँदै एउटा हिस्साले ‘ओस्कर सो हाइट’ भन्दै विरोधसमेत गरे । लब्धप्रतिष्ठितले समेत ओस्कर बहिष्कारको अभियान चलाए । फलस्वरूप यसपालिको ओस्कर अवार्ड सेरेमोनीले आठ वर्षयताकै कम दर्शक पायो ।

‘वर्डम्यान’ ले ओस्कर जितेको गतवर्ष अवार्ड वितरण समारोह हेर्नेको संख्या विश्वभर तीन करोड ७३ लाखले हेरेको रेकर्ड निकालिएको थियो । जब कि यस वर्ष ३० लाख दर्शक घटेका छन् । जुन दर्शक सन् २००८ पछिकै थोरै हो ।

ओस्करले सर्वाधिक दर्शक भने सन् १९९८ मा पाएको थियो । शताब्दीकै उत्कृष्ट फिल्म मानिने ‘टाइटानिक’ ले अवार्ड जितेको उक्त वर्ष पाँच करोड ५० लाख दर्शकले विभिन्न माध्यमबाट अवार्ड समारोह प्रत्यक्ष हेरेका थिए ।

ओस्करले विविधीकरणलाई आत्मसात गर्न नसकेको, गोराहरूको चंगुलमा मात्रै रमाएको र काला जातिका कलाकारलाई हेपेको आरोप यसपटक चर्को खेपेका कारण यसपटक दर्शकमा ओस्करप्रति नैराश्यता बढेको हुन सक्ने एकखाले विश्लेषकहरूको भनाइ छ । तर अवार्डप्रति दर्शकको चासो भने यसपटक ओस्करमा मात्रै नभई गोल्डेन ग्लोब्स र ग्रामीजस्ता टेलिभिजन र संगीतसँग सम्बन्धित दुई प्रतिष्ठित अवार्डमा पनि घटेको तथ्यांकले देखाएको छ ।

गतवर्ष एक करोड ९३ लाख दर्शक पाएको गोल्डेन ग्लोब्सको यस वर्ष झन्डै आठ लाखले घटे भने ग्रामीको दर्शक संख्या पनि सात वर्षयताकै कम रह्यो । तर लियोनार्दो डिक्याप्रियो भने यसपटक हाबी भए ।

छैटौं पटकको मनोनयनमा पहिलो पटक ओस्कर जित्न सफल लियोलाई बधाई दिनेको संख्या ट्वीटरमा मात्रै प्रति सेकेन्ड सात हजार तीन सय ३३ पोस्ट मापन गरिएको थियो । आइतबार रातभर उनी लियोनार्दो ट्ेरन्डिङ चलेको थियो । जुन यसअघि कहिल्यै भएको थिएन । लियोनार्दोले ‘द रेभेनेन्ट’ का लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

http://bit.ly/1OO0jDP

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा