मनोरञ्जन

पाँचौ पटकमा लियोनार्दोलाई ओस्कर

बारम्बार मनोनयनमा परेर पनि ओस्कर अवार्डको दौडमा सधैं खाली हात हुँदै आएका हलिउड सुपरस्टार लियोनार्दो डिक्याप्रियो यसपालि भने भाग्यमानी ठहरिएका छन् । छैटौं पटकको ओस्कार मनोनयनमा लियोनार्दोले पहिलो ओस्कर अवार्ड जितेका छन् ।

फिल्म अवार्डमा संसारकै सबैभन्दा प्रतिष्ठित मानिने एकेडेमी उर्फ ओस्कर अवार्डमा लियोनार्दोले ‘द रेभेनान्ट’ बाट उत्कृष्ट अभिनेता ठहरिएका हुन् । यस पटक अभिनेताका लागि धेरैले लियोनार्दोले नै हकदार ठहरिने अनुमान गरेका थिए, जसलाई ओस्करले पनि नकार्न सकेन ।

त्यसैगरी, ‘द रुम’ का लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । मनोनयनमा ‘द रेभेनान्ट’ अगाडि देखिए पनि उत्कृष्ट फिल्ममा भने ‘स्पटलाइट’ ले बाजी मार्‍यो । टम म्याकार्थीले निर्देशन गरेको उक्त फिल्म पत्रकारहरूको एउटा टिमले गरेको खोजमूलक रिपोर्टिङको कथामा आधारित छ ।

निर्देशकमा लगातार दोस्रो वर्ष पनि अलेजान्द्रो गोन्जालेज इनारितु नै उत्कृष्ट ठहरिए । मेक्सिकन अलेजान्द्रोले गत वर्ष पनि ‘बर्डम्यान’ का लागि निर्देशकको ओस्कर पाएका थिए । यस पटक भने ‘द रेभेनान्ट’ ले उनलाई सोही विधाको अवार्ड दिलायो । सहअभिनेतामा स्टिभन स्पिलबर्गको फिल्म ‘ब्रिज अफ स्पाइज’ का लागि मार्क रिल्यान्सले अवार्ड पाए भने सहअभिनेत्रीमा ‘द डयानिस गर्ल’ का लागि एलिसिया विकान्देर उत्कृष्ट घोषित भइन् । सिनेमाटोग्राफीमा ‘द रेभेनान्ट’, सम्पादनमा ‘म्याड म्याक्स : युरी रोड,’ एडप्टेड स्क्रिनप्लेमा ‘द बिग सट,’ ओरिजिनल स्क्रिनप्लेमा ‘स्पटलाइट’ र विदेशी भाषाको फिल्ममा हंगेरीको ‘सन अफ सोल’ उत्कृष्ट रहे ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा