मनोरञ्जन

सोनाक्षी–मलाइकासँगै झुम्यो टुँडिखेल

कम्पपीडितको सहयोगार्थ भन्दै आयोजना गरिएको ‘अमरपन्छी’ कन्सर्टमा बलिउड नायिका सोनाक्षी सिन्हा र मलाइका अरोराले राजधानीको टुँडिखेलमा भरिभराउ दर्शकलाई नृत्यमा झुमाए । सैनिक श्रीमती संघ नेपालले गरेको कन्सर्टमा दुई चरणमा गरी आफ्ना डान्सिङ नम्बर पस्केका सोनाक्षी र मलाइकाले नेपाली क्राउडको प्रशंसा गर्दै उत्साहजनक भनी टिप्पणी गरे ।

‘गो गाविन्दा…’, ‘गन्दी बात…’ भन्दै पहिलो चरणमा ६ मिनेटको डान्स पर्फम गरेकी सोनाक्षी दोस्रो चरणमा पुन: ‘डिजेवाला बाबु मेरा गाना चला दो…’ भन्दै नाच्न आइपुगिन् । आफ्नै कोरस डान्सरसहित आएकी सोनाक्षीेले स्टेज छोड्नुअघि कार्यक्रम सञ्चालिका सहाना बज्राचार्यको हातबाट माइक लिँदै हिन्दीमा भनिन्, ‘बिनाकेही नभनी म जानेवाला छैन ।’ त्यसपछि उनले क्राउडतर्फ सम्बोधन गर्दै थपिन्, ‘नमस्ते काठमान्डु । कस्तो छ ?’ दर्शकको उत्साहप्रद हुटिङ पाएपछि सोनाक्षीले हिन्दीमा थपिन्, ‘यत्रो माया, यत्तिका सम्मान ।

फेन्टास्टिक अडियन्स । धेरै दिनपछि आजको पर्फमेन्सबाट मज्जा आयो । धन्यवाद तपार्इंहरूलाई ।’ सोनाक्षीले शनिबार बिहान ट्वीटमै पनि नेपालमा गरिएको स्वागतबाट आफू पुल्कित भएको टिप्पणी गर्दै ६० हजार दर्शकसामु आजै साँझ पर्फम गर्न लागेको खुलाएकी थिइन् ।

बलिउडमा ‘मुन्नी’ नामले पनि परिचित मलाइका ‘चिटिया कलाइया…’, ‘अनारकली डिस्को चली…,’ सँगै आफ्नै हिट नम्बर ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए…’ र ‘फेभिकोल से…’ मा दर्शक उचालेकी थिइन् । ‘सन्चै हुनुहुन्छ ?’ पर्फमेन्सलाई बिट मारिसकेपछि जानुअघि मलाइकाले दर्शकसमक्ष नेपालीमै सन्चो/बिसन्चो सोधेपछि थपिन्, ‘मैले (नेपालीमा) भनेको मिल्यो ?’ नेपाली दर्शकले मिलेको प्रतिक्रिया दिएपछि उनले हिन्दीमा फेरि भनिन्, ‘एकदमै एकदमै लोभलाग्दा दर्शक उपस्थिति ।’ उनले पनि सोनाक्षीले झैं दर्शकबाट ठूलो माया र सम्मान पाएको प्रतिक्रिया दिँदै दर्शकलाई आश्वस्त पार्न चाहिन्, ‘नेपाल फेरि आउनेछु ।’ सोनाक्षीले त आफ्नो मोबाइलबाट दर्शकलाई पृष्ठभूमिमा हुटिङ गर्न लगाउँदै सेल्फीसमेत खिच्न भ्याइन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही मनोरञ्जनबाट

ताजा