बिशेष समाचार

सप्तरीका औषधी पसलबाट लागुऔषध तस्करी

सप्तरी, ४ फागुन । सप्तरीको सीमावर्ती क्षेत्रमा रहेका औषधि पसलहरुमा लागू औषध कारोवार र ओसार पोसार पछिल्ला दिनमा बढेको छ । स्थानीय प्रहरी प्रशासनले लागू औषध नियन्त्रणका लागी प्रयास नगरेका पनि होइनन । तर खुल्ला सिमानाको फाइदा उठाउँदै र प्रहरीको चेकजाँचलाई छल्दै केही यूवाहरु लागू औषध सेवन र ओसार पोसारलाई निरन्तरता दिएका छन् । जानकारहरुका अनुसार सप्तरीको विभिन्न स्थानबाट दैनिक ५० देखि २ सय जना यूवाहरु लागु औषध सेवनका लागि सीमापार भारतको नेउर, कुनौली, निर्मली, अन्धरामठ, भीमनगर र विरपुर बाजार सम्म पुग्ने गरेका छन् । भारतको विहार राज्यमा गत अप्रिल १ देखि मदिरा बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । यस पेशामा लागेकाहरु अहिले बेरोजगार भएपछि अधिकांसले औषधि पसल थापेर लागू औषधको कारोवार थालेको स्थानीयको भनाई छ ।
उनीहरुलाई सीमानजिक डियुटीमा रहेका भारतीय सशस्त्रसीमा वल एस.एस.बीले पनि मासिक नजराना लिई संरक्षण दिई रहेका स्थानिय तथा लागु औषधको कुलतमा फसेका युवाहरु बताउछन् । औषधी पसलेहरुले त्यस्ता लागू औषध पसलमा लुकाई राख्ने तथा प्रिन्ट भन्दा दोब्बर मुल्य लिई विक्री गर्ने गरेको अर्का एक लागू औषध दुव्र्यसनी ले बताए । मानसिक, शारिरीक र आर्थिक क्षति पुयाउने यस्ता लागू औषध सेवन र ओसार पोसार नियन्त्रणका लागी स्थानिय प्रहरीले पहल नगरेका पनि होइनन् । तर खुला सिमानाको फाईदा उठाउादै केही अशिक्षित र बेरोजगार युवाहरु यस्तो कुलतमा फसेको डि.एस.पी. दान बहादुर कार्कीको भनाई छ ।
दुब्र्यसनी नियन्त्रणका लागि सिमावर्ती भारतीय क्षेत्रका उच्च सुरक्षा अधिकारी सँग पनि बार्ता गरी सामाधानको प्रयास गरिएको प्रहरीले जनाएको छ । साथै लागू औषध ओसार पोसार हुने स्थानको पहिचान गरी निगरानी बढाइएको, समुदायमा सडक नाटक, कक्षा संचालन, पर्चा पम्प्लेट लगायतका चेतना अभियान पनि थालिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.व.को माघ मसान्त सम्ममा लागू औषधका २९ जना पक्राउ परेका छन । प्रहरीले यस अवधिमा
४ सय बोतल प्रतिबन्धित कोरेक्सका साथै ठुलो मात्रामा नाईट्रो जापाम ट्याबलेट, फेनरागन, नुरफिन, क्लोजेफ र गाँजा जस्ता प्रतिबन्धित लागू औषध नियन्त्रणमा लिई नष्ट गरेको छ । लागू औषधको सेवनमा कलिला युवाहरु फस्दै जानुले भविष्यमा अवस्था झन भयावह बन्ने निश्चित भएकाले यसको लागी समयमै आवश्यक पहल गर्नु जरुरी भएको स्थानिय बुद्घिजिवीहरुको भनाई छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा