विदेश

भारतले गर्‍यो एकैपटक १ सय ४ वटा भू–उपग्रह प्रक्षेपण

एजेन्सी, ४ फागुन । भारतले एकै यानबाट अन्तरिक्षमा १ सय ४ भू–उपग्रह प्रक्षेपण गरी नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार स्थानीय समय अनुसार बिहान ९ बजेर २८ मिनेट जाँदा दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरीकोटाबाट अन्तरिक्ष यान पीएसएलभी सी थर्टी सेभेन यान प्रक्षेपण गरियो । यसअघि सन् २०१४ को जुनमा मा रुसले एउटै यानमा ३७ वटा भु–उपग्रह प्रक्षेपण गरी कीर्तिमान कायम गरेको थियो ।

भारतले भने यसअघि सन् २०१५ को जुनमा एउटै यानमा २३ वटा भू–उपग्रह अन्तरिक्षमा स्थापना गरेको थियो । भारतको अन्तरिक्ष सम्बन्धी संस्था इण्डियाज स्पेस रिसर्च अर्गनाइजेसन इसरोका अनुसार प्रक्षेपण गरिएको यान २७ हजार किलोमिटर प्रतिघण्टाको गतिमा १७ मिनेटमै अन्तरिक्षको कक्षमा प्रवेश गरेको थियो ।

यानबाट आधा घण्टाका समयमा सबै १ सय ४ वटा भु उपग्रह सफल रुपमा पृथ्वीको कक्षमा स्थापना गरिएको इसरोले जनाएको छ । यानमा रहेको १ सय ४ भू–उपग्रह मध्ये तीनवटा मात्र भारतको रहेको बताइएको छ । यानमा १ सय १ विदेशी भू–उपग्रह मध्ये अमेरिकाका मात्र ९६ वटा रहेको थिए भने इजरायल, कजाखस्तान, नेदरल्याण्डस्, स्विट्जरल्याण्ड र युनाइटेड अरब इमिरेट्सका एक–एक वटा भू–उपग्रह यानमा रहेका थिए ।

यान प्रक्षेपणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोलाइ बधाइ दिएका छन् । अर्को वर्ष इसरोले चन्द्रमामा चन्द्रयान नामक यान पठाउने योजना रहेको बताएको छ । अन्तरिक्षमा इतिहास कायम गरेसँगै भारत अन्तरिक्ष क्षेत्रका परम्परागत शक्तिहरु अमेरिका, रुस तथा युरोपलाइ टक्कर दिने अवस्थामा आइपुगेको विश्लेषण गरिएको छ ।

 

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा