अन्तर्वार्ता

गोविन्दराज भन्छन्- कृष्ण सिटौलालाई मैले नै उचाल्या हो

कांग्रेसको तेह्रौं महाधिवेशन सफल भयो कि असफल ?

महाधिवेशनका दुईवटा पक्ष छन् । फाइदा-बेफाइदा दुबै छन् । महाधिवेशनले पार्टीलाई गाउँ र वडास्तरसम्म पुर्‍याएको छ । कांग्रेसको जरा गाउँसम्म पुगेको छ । यो महाधिवेशनको पोजेटिभ पक्ष हो ।

तर, हाम्रो पार्टीमा विगत केही वर्षदेखि अधिवेशन एउटा सेरेमोनियल भएको छ, उत्सव जस्तो भएको छ । वास्तवमा यसलाई उत्सवका रुपमा हामीले ल्याउन खोजेको होइन । नेपाली कांग्रेस कता जाँदैछ भन्ने एउटा दृष्टिकोण यो महाधिवशेनले दिनुपर्ने थियो । दुर्भाग्यवस भनौं, सैद्धान्तिक दृष्टिकोण र विचारमूलक प्रवाहचाँहि महाधिवेशनले दिन सकेन ।

यसपटक त महाधिवेशन कहिले सिद्धियो, मलाई नै थाहा भएन । सुरु भयो, सिद्धिएछ । त्यहाँ के पास भयो, के प्रस्तावहरु आए ? पहिला पहिलाको भन्दा यसपटक यस्तो नाजुक भयो कि पहिले त केही प्रस्तावहरु पास हुन्थे, त्यो बाहिर पनि आउँथ्यो । पत्रकार सम्मेलन गरेर घोषणा हुन्थ्यो, ती केही पनि भएनन् । यो अत्यन्तै नकारात्मक पाटो हो ।

तपाईहरुलाई कांग्रेसको हार्डलाइनर टीम भनिन्छ । महाधिवेशनको अन्तिम क्षणमा आएर तपाईहरुले देउवालाई समर्थन गर्नुभयो । देउवासँग केही जेन्टलमेन एग्रिमेन्ट भएको थियो ?

अहिले कांग्रेससँग अडान पनि छैन, पहिचान पनि छैन । नेपाली कांग्रेसको अहिलेको प्राथमिकता भनेको सत्ता हो ।

वास्तवमा हामीले सिफ्ट गरेको होइन । सुशील नेतृत्वको पदाधिकारी र कार्यसमितिमा जो हुनुहुथ्यो, उहाँहरुले विचारलाई अगाडि बढाउन सक्नुभएन । कुनै पनि भातृसंस्थाको अधिवेशन भएन । विभागहरु बनेनन् । जिल्लामा कुनै पनि गतिविधि यो पाँच वर्षमा भएनन् । त्यसैको निरन्तरता रामचन्द्रजीले दिनुभयो । यो सारा गतिविधिमा सुशील कोइरालालाई मात्रै गाली गरेर पुग्दैन । यसमा पदाधिकारीहरु जिम्मेवार छन् । यद्यपि त्यसमा शेरबहादुरजी पनि कहीँ न कहीँ जिम्मेवार हुनुहुन्छ ।

पाँच वर्षसम्म उहाँहरुले केही गर्नुभएन मात्रै हैन, समयमा महाधिवेशन नगराएर यो आजको संवैधानिक डेटलकको कारक त कांग्रेस पनि हो नि त । अन्तिम बेलामा कांग्रेस संविधान ल्याउने कि पार्टी विघटन गर्ने भन्ने अवस्थामा पुग्यो । यो अवस्थामा पुर्‍याउने पदाधिकारीलाई हामीले निरन्तरता दिन सक्ने अवस्था थिएन । यद्यपि अहिले आएका पदाधिकारीहरु पनि टेस्टेड हुन बाँकी छ ।

दोस्रो कुरा, हामीले वैचारिक आन्दोलन लिएर हिँडेका छौं । तर, हामीसँग सभापतिमा उठेर जित्न सक्ने अवस्था थिएन । त्यसकारण विद्यमान पदाधिकारीलाई समर्थन गर्न नसक्दाखेरि शेरबहादुरजीलाई विकल्पका रुपमा समर्थन गरेका हौं । भएका दुईवटामध्ये बेस्ट विकल्प छानेका हौं ।

० यसमा कुनै जेन्टलमेन एग्रिमेन्ट पनि छ कि ?

हेर्नुहोस्, राजनीतिमा त्यस्तो एगि्रमेन्टले धेरै काम पनि गर्दैन । तर, कुरा के हो भने शेरबहादुरजीले काम गर्दाखेरि तपाईहरुसँग परामर्श लिएर गर्छु भन्नुभएको छ । यही हो हाम्रो एगि्रमेन्ट । हरेक कुरामा तपाईहरुसँग सल्लाह लिएर गर्छु भन्नुभएको छ ।

० रामचन्द्र पौडेलले केही भन्नुभएन ?

उहाँसँग कुनै कम्युनिकेसन नै भएन । उहाँले कुनै एप्रोच गर्नुभएन । उहाँले एप्रोच नगरिसकेपछि अर्कोतिर उधारै होला, तर तपाईहरुसँग मिलेर काम गर्छु भनेर शेरबहादुरजीले भन्दाखेरि तेस्रो विकल्प नभएकाले त्यो अर्थमा शेरबहादुरजीलाई समर्थन गरेका हौं ।

अर्को कुरा, वीपीसँग अलिकति एशोसिएट पनि भएका कारणले गर्दा शेरबहादुरजी वीपीको बाटोमा आउन सक्नुहुन्छ कि भन्ने हामीलाई लाग्यो । त्यो सानो आश पनि हामीलाई छ । हाम्रो तत्कालीन इन्ट्रेस्ट शेरबहादुरजीसँग मिल्यो, हामीले उहाँलाई सहयोग गर्‍यौं ।

० रामचन्द्रजीले पनि त वीपीसँगै काम गर्नुभएकै हो नि…

उहाँले भन्नुहुन्छ मात्रै, उहाँको गराइ त्यस्तो देखिँदैन । रामचन्द्रजीको सबैभन्दा कमजोरी के भयो भने देशको फस्ट म्यान हुने भनिएको मान्छेका केही गुणहरु हुनुपर्छ क्या । उहाँको जिल्ला आफ्नो भएन । केन्द्रीय सभापति हुने मान्छेले त अलिकति कम्प्रोमाइज गर्नुपर्छ नि त । अञ्चल उहाँको भएन । अञ्चलको नेतृत्व कोही पनि उहाँको पक्षमा छैनन् । पञ्चिमाञ्चल देखिने गरी उहाँको पक्षमा छैन । यही कमजोरीका कारणले उहाँ माथि आउन सक्नुभएन । उहाँले माथि आउन यी कमजोरी सुधार्नुपर्छ ।

० देउवासँग मिलेपछि कुलबहादुर गुरुङ, तपाई र विनयध्वज चन्द लगायतका नेताहरु देउवाको प्यानलमा पनि पर्नुभएको थियो, तर चुनावमा जित्नुभएन, के तपाईहरुमाथि देउवा पक्षबाट असहयोग भएको हो ?

प्यानलमा परे-नपरेको हामीलाई थाहा भएन । तर, मैले ११११ भोट ल्याउँदाखेरि मलाई लाग्छ, लगभग ९ सय भोट संस्थापन पक्षबाट आएको छ । मेरा एजेन्टहरुले सबै हेर्नुभएको छ । म पनि त्यहाँ बसेको थिएँ ।

० यसलाई अलि रुखो भाषामा भन्दा देउवा पक्षले तपाईहरुलाई धोका दिएको भन्न मिल्छ ?

त्यस्तो पनि नभनौं । राजनीतिमा क-कसले साथ दिए, दिएनन् भन्नु उचित हुँदैन । तर, त्यहाँको मतगणनामा त्यस्तो देखिन्थ्यो । कसैले धोका नदिने भन्ने हाम्रो सम्झौता थियो र ? हामीले ‘वन साइडेड’ रुपमा देउवाजीलाई सहयोग गरेका हौं । कसले मत दिए, दिएनन् त्यसमा गुनासो छैन ।

० तपाईले अघिल्लो चुनावमा पनि जित्नुभएन । यसपालि पनि हार्नुभयो । ०६२/०६३ अगाडि तपाई कांग्रेसमा पावरफूल हुुनुहुन्थ्यो । गृहमन्त्री हुनुभो, सहमहामन्त्री हुनुभो । गिरिजाप्रसादको अघिपछि निर्णय गर्ने ठाउँमा हुनहुन्थ्यो । अहिले किन राजनीतिक फल डाउन भयो ?

यो फल डाउन हैन । फल डाउन वा इन्ड भनेको त मैले सोच्ने कुरा हो । मैले त्यो सोचेको छैन । म निरन्तररुपमा लागिराखेको छु र लागिरहनेछु । अघिल्लोचोटि म कुनै प्यानलमै बसेको थिइँन । तर, ८/९ भोटले मात्रै हारेको हुँ । यसपटक पनि ११११ मत आएको छ । त्यो भोट त्यत्तिकै त आएको होइन होला नि त ।

सभापतिमा तीनजना थिए, दुईजनाले हारे, के उनीहरुको राजनीति सिद्धियो त ? यसबाट राजनीतिको मूल्यांकन हुँदैन । कांग्रेसलाई वीपीले सोचेको जस्तो पार्टी बनाउने मेरो विचार छ । त्यसैले मेरो क्रियाशीलता रहिरहन्छ । तपाई सम्झिइराख्नुहोला, राजनीतिमा निष्ठा र निरन्तरता दुईवटा कुरा महत्वपूर्ण कुरा हो ।

० गिरिजाले तपाईको साटो कृष्णप्रसाद सिटौलालाई अगाडि सारेपछि तपाईको राजनीतिक यात्रा पछि परेको भनिन्छ नि ?

तपाईले सोधिसकेपछि अलिकति भन्नु पनि पर्‍यो । कुरा के हो भने सिटौलालाई उचाल्दिएको मैले नै हो । र, गिरिजा बाबुकोमा लगिदिएको पनि मैले नै हो । उहाँ पहिले कृष्णप्रसाद भट्टराईकहाँ हुनुहुन्थ्यो ।

मैले स्पष्टरुपमा भन्नैपर्छ कि १२ बुँदे समझदारीपछि गिरिजाबाबुसँग मेरो असहमति भयो । ०६२/०६३ को आन्दोलन मैले नै गिरिजाप्रसाद कोइरालाको नाममा कम्प्युटरबाट सही गरेर घोषणा गरेको हुँ । त्यो गिरिजाबाबुले गरेकै हैन । यद्यपि त्यो उहाँलाई जानकारी थियो ।

तपाईले भनेजस्तै मैले गिरिजाप्रसाद कोइरालासँग नजिक बसेर काम गरेको छु । वीपी कोइरालाको पनि म एसोसिएट मान्छे हो । हामी बीपीलाई सशस्त्र संघर्षमा साथ दिएका मान्छे हौं । गिरिजाबाबुलाई जीवनभरि मैले साथ दिएँ । तर, १२ बुँदे सहमति गर्दाखेरि मलाई थाहा दिइएन ।

यो बाह्रबुँदेले कांग्रेसलाई ठीक ठाउँमा लाँदै लाँदैन भन्ने मेरो भनाइ थियो । अनि मैले गिरिजाबुलाई भनें, तपाईले मलाई विश्वास नगरेपछि मलाई तपाईले चाहिँदा प्रयोग गर्नुहोला । म तपाईसँग सँगै हिँड्न सक्ने अवस्थामा रहिँन । मैले त्यसो भनेपछि गिरिजाबाबुले भोलिदेखि मलाई कसले हेल्प गर्छ भन्नुभयो र मैले कृष्ण सिटौलालाई उहाँकहाँ लगेर राखिदिएको हुँ ।

० कृष्ण सिटौलासँग त्यस्तो के सकारात्मक गुण थियो र तपाईले रोज्नुभयो ?

सैद्धान्तिक कुरा होइन, उहाँ एकदमै खट्ने मान्छे हो । गर् भनेपछि गर्ने मान्छे हो । त्यस्तो मान्छे गिरिजाबाबुलाई चाहिन्थ्यो । सिटौला एकमदै खट्ने, नरिसाउने, हाँसेर बसिरहने । निर्लज्ज भन्छन् नि, त्यो टाइपको मान्छे हो उहाँ । लाए अह्राएको काम बफादारीपूर्वक गर्ने । गर्दागर्दै मैले छाडेपछि उहाँले पछि त के-के गर्नुभयो ।

तर, गिरिजाबाबुलाई त्यसबेला बेटर मान्छे उहाँ नै हुनुहुन्थ्यो । मैले नै लिएर हिँड्थें कृष्ण सिटौलालाई । गिरिजाबाबुको क्याम्पमा मैले नै टे्रण्ड गरेको मान्छे हो उहाँ ।

० उसोभए बाह्रबुँदेपछि गिरिजाबाबुसँग तपाईको मतभेद भएकैले पार्टीमा तपाईको भूमिका कम हुँदै गएको हो त ?

प्रचण्ड र गिरिजाबाबुको कुरा गर्ने छुट्टै मोबाइल बनाइदिएको थिएँ मैले । त्यो मोबाइलमा प्रचण्डको मात्रै घण्टी आउँथ्यो । त्यो मोबाइल गिरिजाबाबुको कोठाबाट चोरी भयो ।

हो । गिरिजाबाबुसँगै मेरो भिन्नता भइसकेपछि उहाँको नजिक जानबाट मैले विस्तारै आफूलाई कम गरें । ०६२/०६३ को आन्दोलन त मैले नै सुरु गरेको हो । म यो दाबीका साथ भन्छु । सोध्नोस् न अरुलाई ।

० बाह्रबुँदे समझदारीको विरोधचाँहि किन गरेको ?

एउटा त त्यो एगि्रमेन्ट नेपालमा गर्नुपथ्र्यो भन्ने हो । माओवादीसँग सम्झौता नेपालमा गर्नुपर्छ भन्ने थियो । अरु धेरै यसका सैद्धान्तिक पक्षहरु छन् ।

० तर, माओवादीसँग सम्झौता नै गर्नुहुँदैनथ्यो भन्ने तपाईको तर्क होइन ?

म तपाईलाई यो पनि भनिदिन्छु, माओवादीसित वार्ताको सुरुवात पनि मैले नै गरेको हो दिल्लीमा गएर । शेखर कोइरालालाई गएर सोध्नुहोस् । शेखर कोइराला, म, बाबुराम भट्टराई, कृष्णबहादुर महरा र देव गुरुङको वीचमा पहिलो कुारकानी भएको थियो ।

तपाईलाई म यो पनि भन्दिन्छु कि त्यो वार्तामा माओवादीहरुले सेनालाई संसदको अधीनमा राख्ने हो भने ०४७ सालकै संविधान संशोधन गरेर मान्न सकिन्छ भनेर उनीहरुले भनेका थिए । उनीहरुसँग हाम्रो त्यो सहमति भएको थियो । तर, त्यो असफल भयो । त्यसैले गर्दा मैले माओवादीसँगको सम्झौताको विरोध गर्ने त कुरै हुँदैन ।

मैले नै गिरिजाबाबुलाई प्रचण्डसित सम्पर्क गराइदिएको हुँ । पहलकर्ता नै म हो त्यो वार्ताको । त्यसकारणले मैले १२ बुँदेको विरोध गर्नुको अर्थ माओवादीसँग कांग्रेसले सम्झौता गर्नुहुँदैनथ्यो भन्न खोजेको होइन । त्यसको त सुरुवातै मैले गर्‍या हुँ ।

तपाईलाई अर्को इन्ट्रेस्टिङ्ग कुरा सुनाउँछु, मेरो वायोग्राफीमा पछि निस्कन्छ । प्रचण्ड र गिरिजाबाबुको कुरा गर्ने छुट्टै मोबाइल बनाइदिएको थिएँ मैले । त्यो मोबाइलमा प्रचण्डको मात्रै घण्टी आउँथ्यो । त्यो मोबाइल गिरिजाबाबुको कोठाबाट चोरी भयो । त्यसपछि खटपट भयो । त्यसपछि फेरि वहाँसँग सम्पर्क कायम गरियो ।

शेखर कोइराला जिवितै छन्, बाबुराम छन्, कृष्णबहादुर महरा छन्, सोध्नु न । मैले सुरु गरेको हो माओवादीसँग वार्ता । माओवादीसँग गर्नुहुन्न भन्ने होइन । तर, गिरिजाबाबुले त्यत्रो महत्वपूर्ण कुरामा मलाई नसोधिकन, मलाई थाहा नदिइकन उहाँ दिल्ली जानुभयो । मलाई विश्वास गर्नुभएन । त्यसपछि सरकार बन्यो, सरकारमा म भइँन । यी सब घटनाक्रमहरु विकास हुँदै गए । तर, निष्ठाको कुरा महत्वपूर्ण हुँदोरहेछ । निष्ठा छाड्ने हो भने सत्तामा पुग्नका लागि मलाई कुनै ठूलो कुरा होइन । तर, निष्ठाले मलाई अलि अप्ठ्यारो पारेको हो ।

govinda raj joshi

० केही मान्छेले चाँहि तपाईलाई अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएपछि त्यसले अघि बढ्न अप्ठ्यारो पारेको हो भन्छन् नि ?

यो विषयमा चाँहि कुरा नगरौं अहिले ।

० तपाईले कांग्रेस पार्टीभित्र विचारको बहस हुनै छाड्यो भन्नुभयो, यसको कारण के हो र यसले अब पार्टीलाई कहाँ पुर्‍याउला ?

यसको मुख्य कारण नै के हो भने कांग्रेस विचारमा हिँड्दै हिँडेन क्या । कांग्रेसले सत्ताको लागि राजनीति गर्न थाल्यो । मैले भन्दै आएको छु, कांग्रेसले वीपीको बाटो भुल्यो भनेको यही हो । वीपीले आफ्नो जीवनको अन्त्यमा के भन्नुभएको छ भने जुन दिन नेपाली कांग्रेसले आफ्ना आदर्शहरुलाई बिर्सेर सत्ताको राजनीति गर्ने छ, त्यो दिन नेपाली कांग्रेस निरर्थक भएर जानेछ ।

र, वीपीले यो पनि भन्नुभएको छ, म मरेपछि नेपाली कांग्रेसमा मैले लिएका अडानहरुका बारेमा र स्वयं मेरा बारेमा पनि भ्रम सिर्जना गरिनेछ भन्ने मलाई पक्का छ ।

० तर, वीपीका बारेमा कुरा गर्ने तपाईहरुलाई के आरोप लाग्ने गरेको छ भने तपाईहरु राष्ट्रिय मेलमिलापको बाहना बनाएर देशमा संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्न खोज्दै हुनुहुन्छ र गणतन्त्रको विरोध गर्दै हुनुहुन्छ…..

यो एकदमै गलत हो । वीपीले भनेकै त यही हो नि । म मरेपछि मेराबारेमा भ्रम सिर्जना गरिनेछ । मेलमिलाप नीतिमा वीपीले त्यसो भन्नुभएकै होइन । वीपीले राष्ट्रिय मेलमिलापको नीति ल्याउँदाखेरि कुनै पनि व्यक्ति वा शक्ति राष्ट्रवादी छैन र जो प्रजातन्त्रवादी छैन, त्योसँग मेरो मेलमिलाप हुन सक्दैन भन्नुभएको थियो । र, यसै कारणले वीपीको राजासँग मेलमिलाप हुन सकेन, किनभने राजा प्रजातन्त्रवादी थिएनन् । वीपीको वामपन्थीहरुसँग मेलमिलाप हुन सकेन, किनभने वामपन्थीहरु राष्ट्रवादी हुँदै हुँदैनन् ।

० उसो भए तपाईहरुले जुन वीपीको नीतिको वकालत गरिरहनुभएको छ, त्यसको अर्थ देशलाई फेरि संवैधानिक राजतन्त्रमै फर्काउने भन्ने होइन ?

त्यो बेकारको कुरा हो । वीपीले त्यो कुरा भन्नुभा’कै छैन । अहिले त राजतन्त्र नै छैन, कहाँबाट मेलमिलाप गर्ने राजासँग ? मेलमिलाप भनेको त अस्थित्वमा भइराखेका शक्तिसित, भइराखेका व्यक्तिसित गर्ने हो ।

० कमल थापाले पनि वीपीको राष्ट्रिय मेलमिलाप नीतिबारे चर्चा गरेको सुनिन्छ, उनको ‘इन्टरपि्रटेसन’ ले पनि केही भ्रम पारिदिएको हो कि ? वीपीले राजा र कांग्रेसको घाँटी जोडिएको छ भनेका थिए….

कमल थापाजीको उदाहरण दिँदाखेरि यो त्यति सान्दर्भिक हुँदैन । कुरा के हो भने वीपीले त्यसो कहिल्यै पनि भन्नुभएको छैन । त्योबेला राजा अस्थित्वमा थिए, त्यसैले उहाँले राजासँग मेलमिलाप गर्ने भन्नुभो । राजा राष्ट्रवादी हुन्छ, वीपीले प्रजातन्त्रवादी बनाउन कोसिस गर्नुभो ।

वीपीले यो पनि भन्नुभएको छ, सरकार, म त बिराटनगरमा गएर मेरो खेतबारीमा बस्छु, यदि प्रजातन्त्र रहेन भने सरकार कहाँ बसिबक्सिन्छ ? यो अवस्था आउँछ वीपीले भन्नुभएको थियो । अहिले त्यो अवस्था आयो कि आएन ? त्यसैले वीपीलाई एउटा त्यस्तो टोपी बनाउनुहुँदैन, जसलाई जुन साइजको मान्छेले लाए पनि हुन्छ । वीपीको विचारले राजतन्त्र वा वामपन्थीहरुसँग मेलमिलाप भन्ने कुराले सरोकारै राख्दैन । वीपीले भन्नुभएको थियो कि कांग्रेससँग मेलमिलापका लागि त्यो राष्ट्रवादी र प्रजातन्त्रवादी हुनुपर्छ । अहिले के भयो भने कांग्रेस यी दुईवटा कुरालाई छाडेर सत्ताका लागि वामपन्थीहरुसँग मिल्न गयो ।

० तर, कांग्रेसले माओवादीसँग मिलेर उसलाई प्रजातान्त्रिक पनि त बनायो नि हैन र ?

प्रजातान्त्रिक बनाउनु त राम्रो हो । संसारमा गिरिजाबाबुले जस्तो महान काम कसैले गर्न सकेन । २३८ वर्षको राजतन्त्र फालिदिनुभो । देशमा गणतन्त्र स्थापना गराउनुभो । संविधानसभाको निर्वाचन गराउनुभो । १२ वर्ष जंगलमा बसेका माओवादीलाई मेन स्टि्रममा ल्याउनुभो । तर, परिणाम के भो ? कांग्रेस दोस्रो ठूलो पार्टी भयो । यस्तो संसारमा काँही हुँदैन । यो किन भयो भने कांग्रेसले लिएको गलत बाटोका कारणले ।

किन ?

किनभने यो माओवादीलाई डेमोक्रेटिक गराउने र नगराउने होइन कि त्यहाँ हाम्रो सत्ताकेन्दि्रत सोचाइ थियो । त्यसैले गर्दा हामी गलत बाटोमा हिँड्यौं । वीपी कोइराला ८ वटा ज्यान मुद्दा लाग्दा नेपाल आउनुभयो । गिरिजाबाबु नेपालमा बसेको मान्छे, विदेशमा गएर १२ बुँदे सम्झौता गर्नुभयो, फरक यही हो ।

० तपाईले जे विश्लेषण सुनाइराख्नुभएको छ, यसले के संकेत गर्छ भने कांग्रेस अहिलेसम्म सही ट्रयाकका हिँडिराखेको छैन….

कांग्रेस सही ट्रयाकमा आएको छैन मात्रै हैन, कांग्रेसले त ट्रयाक छाडिसक्यो । कांग्रेसले अहिले ट्रयाक छोड्यो । अब नयाँ आएको कार्यसमितिले सबैभन्दा पहिले कांग्रेसको पहिचान स्पष्ट गर्नुपर्छ । कांग्रेस के हो ? कांग्रेसको नेता त्यस्तो हुनुहुँदैन, जसले बिहान एउटा कुरा र बेलुकी एउटा कुरा गरोस् । कांग्रेसलाई प्रष्ट बुझिने बनाउनुपर्छ क्या । कांग्रेसको पहिचान हुनुपर्छ । वीपीले भनेको पनि त्यही हो ।

० कांग्रेसको स्पष्ट पहिचान झल्किनका लागि तपाईको विचारमा अब के गर्नुपर्छ ?

कांग्रेसले सबैभन्दा पहिले त ट्रयाक छाडेको कुरा रियलाइज गर्नुपर्‍यो । ट्रयाकमा आउन त ट्रयाक छाडेको स्वीकार गर्नुपर्‍यो नि त । सही ट्रयाकमै हिँडेको छु भनेर त कहाँबाट आउने ? आउँदैन । त्यसपछि आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्‍यो ।

० तपाईको बुझाइमा कांग्रेसले कहाँनेर ट्रयाक छाड्यो ?

जस्तो-अहिले धर्मनिरपेक्षतामा विवाद उठिराखेको छ । यसमा के कांग्रेसले ठीक गरेको हो त ? हो भने हो भन्नुपर्‍यो । यसबारेमा कुनै पदाधिकारीले दिएको वक्तव्यले कांग्रेसको दृष्टिकोण स्पष्ट हुँदैन ।

० तर, कांग्रेसले धर्मनिरपेक्षतासहितको संविधानमा हस्ताक्षर नै गरिसकेको छ । कांग्रेसले नै ल्याएको संविधानलाई आधिकारिक नमान्ने त अब ?

यो विषयमा भाषण गरेर मात्रै त भएन नि । हेर्नोस् त अहिले यत्रो तराई आन्दोलनले कत्रो नोक्सान पुर्‍यायो । हाम्रा नेताहरुमा दुरदर्शिता देखिएन नि त ।

० तपाईको यो भनाइ सुनिरहँदा के लाग्यो भने नेपाली कांग्रेसले धर्म निरपेक्षतामा जानुहुँदैनथ्यो भन्न खोज्नुभएको हो ?

धर्मनिरपेक्षतामा जान हुन्थ्यो कि हुँदैनथ्यो भन्नुभन्दा पनि कांग्रेसका आदर्शहरुमध्ये एउटा आदर्श धार्मिक स्वतन्त्रता पनि हो । कांग्रेसको झण्डामा चारवटा तारा छन्, तीमध्ये एउटा आर्थिक स्वतन्त्रता हो, एउटा राजनीतिक स्वतन्त्रता हो । एउटा सामाजिक स्वतन्त्रता हो र एउटा धार्मिक स्वतन्त्रता हो ।

अब धार्मिक स्वतन्त्रता छाडेपछि तीन ताराको मात्रै अर्थ आयो, एउटा तारको त अर्थ के ? कि झण्डा फेरेर तीन तारा बनाउनुपर्‍यो । त्यो गर्न पनि गाह्रो छ । झण्डाको तारा त फेर्न मिल्दैन । हाम्रो झण्डाको रंगको पनि अर्थ छ । चार तारालाई फेरेर पाँच तारा बनाउन पनि मिल्दैन, तीन तारा बनाउन मिल्दैन । अहिले धार्मिक स्वतन्त्रता हटाइसकेपछि त्यो तारा, जुन वीपी कोइरालाले स्थापना गर्नुभएको थियो, त्यो ताराको अर्थ धर्म निरपेक्षता भन्न मिल्छ ? मिल्दै मिल्दैन नि ।

मैले धर्मका बारेमा चेञ्ज गर्नुहुन्न भनेको पनि होइन । तर, यो कुरामा व्यापक छलफल गरेर यसमा आउने परिणामहरुलाई मूल्यांकन गरेर गरिनुपथ्र्यो ।

० कांग्रेसले अरु के-केमा ट्रयाक छाड्यो ?

यस्ता अरु पनि धेरै कुराहरु छन् । वीपीले म जनता हुँ भन्नुभएको थियो । गिरिजाबाबुले मेरो राष्ट्रिय मेलमिलाप भनेको जनतासँगको मेलमिलाप हो भन्नुभयो । वीपीले म जनता हुँ भन्नुभयो, गिरिजाबाबुले जनतासँग मेलमिलाप गर्ने भनेर हामी शासक हौं भन्याजस्तो गर्नुभयो । यस्ता धेरै कुराहरु छन् ।

० जस्तै ?

अहिले हाम्रो प्राथमिकता सत्ता हुन पुगेको छ । यो सब किन भयो भने अहिले कांग्रेससँग अडान पनि छैन, पहिचान पनि छैन । नेपाली कांग्रेसको अहिलेको प्राथमिकता भनेको सत्ता हो ।

० तपाई यसो भन्नुहुन्छ, तर कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमै बसिरहेको छ….

नसकेपछि के गर्नु त । अन्तिम कोसिस गर्दा पनि नसकेपछि प्रतिपक्षमा बसेको हो । कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु अघिसम्म हाम्रै पार्टीका नेताहरु मलाई राष्ट्रपति बनाइदे भनेर एमाले र एमाओवादीका नेताकहाँ दौडादौड गरे । अन्तिममा उहाँहरुलाई सबैले अस्वीकार गरेपछि कुलबहादुरको उम्मेदवारी दर्ता गरियो । सुशील कोइरालाजी प्रधानमन्त्रीमा लड्नुभो र हार्नु भो । अब प्रतिपक्षमा नबसेर के गर्नु त ।

० तपाईको भनाइ अनुसार त सत्ताकेन्दि्रत नहुने हो भने अब कांग्रेस प्रतिपक्षमै बसेको ठीक होइन र ?

हैन । हरेक पार्टीको उद्देश्य सत्तामा जाने नै हुन्छ । सत्तामा जान खोज्नु गल्ती हो भन्न मिल्दैन । तर, सत्तामा जाँदा केका लागि जाने ? अहिले भनिन्छ नि सहमति, सहकार्य र एकता । यो राष्ट्रिय मेलमिलापलाई अपभ्रंसित गरेर ल्याइएको हो । के हो सहकार्य र एकता भनेको ? को सित एकता ? के हो एकता ? किन, केका लागि एकता ? सहकार्य केका लागि ? यो शब्दले वीपीको मेलमिलापलाई रिप्लेस गर्‍यो ।

० हिजो संविधान बनाउनका लागि सहमति र सहकार्य आवश्यक थियो, अब संविधान कार्यावयनका लागि सहमति र सहकार्य जरुरी छैन र ?

संविधान बनेपछि अब आफैं कार्यान्वयनमा जान्छ । सबै पार्टी मिलेर सरकार बनाउने कुरा सबैभन्दा अप्रजातान्त्रिक काम हो । सत्तापक्ष र प्रतिपक्ष त डेमोक्रेसीको अभिन्न अंग हो । यो हुनैपर्छ ।

ठुल्ठुला दुईवटा पार्टी मिलेर सरकार बनाउनैहुँदैन, एउटा पार्टीले साना दललसँग मिलेर सरकार बनाउनुपर्छ, अर्को ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छ । यो त प्रजातन्त्रको गुण हो । त्यसैले प्रतिपक्षमा बस्नु हाम्रो बाध्यता हो ।

अहिले तपाई देख्नुहुन्छ, वामपन्थीहरु सब एक ठाउँमा उभिएका छन् । यो गठबन्धनबाट प्रजातन्त्र बलियो हुँदैहुँदैन । कांग्रेसलाई बाइपास गरेर, कांग्रेसलाई बाहिर राखेर, कांग्रेसलाई मिनिमाइज्ड गरेर डेमोक्रेसी बलियो हुँदैहुँदैन । त्यसैले अर्को डेमोक्रेटिक पार्टी नभएका कारणले बेलाबखत चाहेर पनि नचाहेर पनि सरकारमा गइरहनु कांग्रेसको बाध्यता हो । अब फेरि पनि जान सक्छ ।

० तपाईलाई शेरबहादुर देउवाले सरकारमा जाऔं कि प्रतिपक्षमै बसौं भनेर सल्लाह माग्नुभयो भने तपाई के जवाफ दिनुहुन्छ ?

सरकार हट्ने दुईवटा तरिका छ । एउटा वर्तमान सरकारले राजीनामा दिनुपर्‍यो । त्यो त हाम्रो हातमा छैन । दोस्रो, प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउनुपर्‍यो । त्यो पनि अहिले गर्नुहुँदैन । अविश्वासको प्रस्ताव राख्नलाई हामीसँग अहिले बहुमत छैन ।

हामी अहिले सरकारको प्रतिक्षामा छौं । कांग्रेसलाई अहिले के भन्छ भने गभन्र्मेन्ट इन वेटिङ । त्यो हट्नासाथै हामी त चढिहाल्छौं । त्यसैले सरकार कसरी जान्छ, त्यसमा हाम्रो भूमिका छैन ।

० तर, यही सरकारले स्थानीय चुनाव गराउने भयो भने प्रतिपक्षमा बसेको कांग्रेस स्वीप हुँदैन ?

के गर्नु त ? अविश्वासको प्रस्ताव राख्न हामीसँग बहुमत छैन । राजीनामा दिन यो सरकारले मान्दैन । तर, कुनै कारणले सरकार फालियो भने हामी गभन्र्मेन्ट इन वेटिङ हौं ।

० उसोभए प्रतिपक्षमा बसेरै स्थानीय चुनावमा जाने ?

बसेर हैन । बस्नुपर्ने बाध्यता छ । एउटा पार्टी त प्रतिपक्षमा बस्नैपर्छ । हामी सरकारमा गयौं भने एमाले प्रतिपक्षमा बस्छ । तीनवटा पार्टी, कांग्रेस, एमाले र एमाओवादी मिलेर सरकार बनाउने कुराचाँहि घोर अप्रजातान्त्रिक हुन्छ ।

० उसोभए केपी ओलीले सरकारमा आउन गरिरहेको आग्रह कांग्रेसले कुनै हालतमा मान्दैन त ?

त्योचाँहि हुँदैन । या त कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ, या सरकारमा जानुपर्छ । या, एमाले प्रतिपक्षमा बस्नुपर्छ । राम्रो त कांग्रेस र एमालेमध्ये एउटा सरकारमा, एउटा प्रतिपक्षमा बसेको राम्रो हुन्छ । तर, माओवादी सरकारमा गएर कांग्रेस प्रतिपक्षमा बस्न पनि सक्छ । माओवादी र कांग्रेसको सरकार पनि हुन सक्छ । तर, कांग्रेस र एमाले वा अझ तीनवटा ठूला दल मिलेर सरकार चलाउनुजति अराजक त केही पनि हुँदैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही अन्तर्वार्ताबाट

ताजा