समाचार

आज बेलुका सम्म सबै स्थानबाट मतपेटिका सदरमुकाम ल्याईसक्ने निर्वाचन आयोगको भनाई

काठमाडौ, १२ मँसिर । निर्वाचन आयोगले मंगलबारसम्म सबै स्थानबाट मतपेटिका सदरमुकाम ल्याईसक्ने जनाएको छ ।

पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा अहिले सर्वाधिक चासोको विषय बनेको छ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको हो । दुई चरणको निर्वाचन कार्यतालिका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ क्षेत्रमा तथा प्रदेशसभाका ७४ क्षेत्रमा पहिलो चरणको निर्वाचन भएको हो ।

पहिलो चरणमा मतदान भएका विकट पहाडी तथा हिमाली क्षेत्रको मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएर आयोगले अहिले जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका सुरक्षाका लागि बन्द कोठामा राख्ने र सिल गर्ने काम सुरु गरेको छ । सोमबार साँझसम्म १५ जिल्लाका दुई हजार चार सय १० मतपेटिका कोठामा बन्द गरी सिल गर्ने काम भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आज ३२ वटै जिल्लाका मतपेटिका सुरक्षित स्थानमा सिलबन्दी भइसक्नेछ ।

यसैबीच, आयोगले सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिव पुजन रायको उम्मेदवारी खारेज गरेको छ । प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ऐन अनुसार उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत पहिलो चरणमा निर्धारण गरिएका ३२ जिल्लाका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुई मतदान केन्द्रको मतदान सरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट