समाचार

एमाले माओवादीको संयुक्त घोषणापत्र सार्वजनिक, १० वर्षमा १५ हजार मेघावाट विजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौ, २१ कार्तिक । सवल र समृद्ध राष्ट्र निर्माण गर्ने संकल्पसहित नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रदेश सभा र प्रतिनिधि सभा घोषणा पत्रमा सुखी जनता, समृद्ध नेपाल निर्माण गर्ने २ वर्षे, ३ वर्षे, ५ वर्षे र १० वर्षे कार्यक्रमको विस्तृत खाका समेत पेश गरिएको छ ।

घोषणा पत्र सार्वजनिक गरेपछि ओली र दाहालले घोषणा पत्र राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई समृद्धि र विकासको बाटोमा अघि बढाउन केन्द्रित भएको दावी गर्नु भएको छ । एमाले अध्यक्ष ओलीले घोषणा पत्र मुलुक निर्माणको आधार भएको दावी समेत गर्नु भयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दलबीचको साझा घोषणा पत्रमार्फत् मुलुकको समृद्धि र विकासको १० वर्षे खाका तय गरिएको दावी गर्नु भयो ।

घोषणा पत्रमा राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति र समृद्धिलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास गर्ने लक्ष्य प्राप्त हुने गरी गरिवी निवारण गर्ने प्रतिवद्धता पनि घोषणा पत्रमा उल्लेख गरिएको छ । एमाले अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले लिएको लक्ष्य अनुसार मुलुकको विकास गर्ने प्रतिवद्धता व्यक्त गरिएको बताउनु भयो ।

घोषणा पत्रमा १० वर्ष भित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । त्यसैगरी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने योजना पनि अघि सारिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले १० वर्ष भित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर हुने प्रतिवद्धता पनि घोषणा पत्रमा उल्लेख गरिएको जानकारी दिनु भयो ।

उहाँले विकास निर्माणको कामलाई सामाजिक न्यायमा आधारित भएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । घोषणा पत्रमा राष्ट्रको समृद्धिको आधारको रुपमा विद्युत र उर्जा क्षेत्रको विकास, पूर्वाधारको विकास, हवाई र जलमार्गको विकास, पर्यटन क्षेत्रको विकास, उद्योग र खनिज क्षेत्रको विकास, गुणस्तरीय शिक्षामा जोड दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

घोषणा पत्रमा स्वच्छ, सुन्दर र आधुनिक राजधानीको परिकल्पना गरिएको छ । त्यसैगरी घरघरमा सहकारीमार्फत रोजगारीको अवसर सृजना गर्ने, श्रमिकलाई सम्मान गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । सूचनाको हकसम्बन्धि ऐनलाई पूर्ण रुपमा लागू गर्ने, सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र छिटोछरितो तुल्याउने प्रतिवद्धता पनि दुई दलको घोषणा पत्रमा व्यक्त गरिएको छ ।

घोषणा पत्रमा पुनर्निर्माणको कामलाई २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसै गरी ३ वर्ष भित्र उद्योग क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्न जोड दिने लक्ष्य लिइएको छ । घोषणा पत्रमा छिमेकसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ । घोषणा पत्रमा नेपाली काँग्रेसलाई अग्रगमनको बाधक शक्तिको रुपमा चित्रण गरिएको छ ।

बाम गठबन्धनले स्वच्छ निर्वाचनलाई लोकतन्त्रको आधारमा रुपमा व्याख्या गर्दै सुशासनमा जोड दिएर समृद्ध मुलुकको निर्माण गर्ने अभियानलाई साकार पार्ने संकल्प पनि गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट