समाचार

गोर्खाल्याण्ड आन्दोलनको मारमा नेपाली बिद्यार्थी

झापा, ११ असार । दार्जिलिङ्गमा भएको भाषा आन्दोलन र गोर्खाल्यान्डको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले गरेको आन्दोलनका कारण दार्जिलिङ पढ्न गएका नेपाली विद्यार्थीहरु प्रत्यक्ष मारमा परेका छन । आन्दोलनले झनै उग्र रुप लिएपछि होस्टलमा बसि अध्ययन गरिरहेका विद्यार्थीहरु घर फर्किन थालेका छन् ।

भारतको बंगाल प्रान्तमा अहिले नेपाली भाषीहरु, नेपाली भाषा र गोर्खाल्याण्डको माग गर्दै आन्दोलन गरिरहेका छन् । उनिहरुले विगत लामो समयदेखी दार्जिलिङ्ग लगायतका ठाँउहरुलाई गोर्खाल्याण्ड प्रान्त घोषणा गरिनुपर्ने माग राखेका छन । पश्चिम बंगालकी मूख्य मन्त्री ममता बेनर्जिले सम्पूर्ण बंगाल प्रान्तमा बेङ्गोली भाषा अनिवार्य हुनुपर्ने घोषणा गरेपछि अन्दोलनले उग्र रुप लिएको हो । आन्दोलनका कारण नेपालबाट भारतको दार्जिलिङ्ग र खार्साङ्गमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरु समस्यामा परेका हुन ।

नेपाली विद्यार्थीहरु अहिले नेपालका विभिन्न पूर्वी नाका हँदै घर फर्किरहेका छन् । दार्जीलिङमा अध्ययनरत नेपाली विद्यार्थीहरु शुक्रबार र शनिबार पूर्वको नाका काँकरभिट्टा हुँदै नेपाल फर्के । उनीहरु विद्यालय पोशाकमै नेपाल पसेका थिए । विद्यार्थीहरु पढाई बिग्रिने डरले चिन्तीत देखिन्थे ।

आन्दोलनरत पक्षले दार्जीलिङ्गका विभिन्न शिक्षण संस्थाका छात्राबासमा बसिरहेका विद्यार्थीहरुलाई घर फर्कनका लागि शुक्रबारको समय तोकिदिएका थिए । शिक्षण संस्थाका शिक्षक, शिक्षिकाले गाडी रिजर्भ गरेर नेपाली विद्यार्थीलाई भारतको सिलिगुडी सहरसम्म ल्याइदिएका थिए भने केही स्कूलले स्कूलबसमै ल्याइदिएका थिए । दार्जिलिङमा चर्किएको यो आन्दोलनले अभिभावहरु पनि चिन्तित बनेका छन ।

दार्जिलिङ्गका विद्यालयहरु बन्द हुँदा नेपाली अभिभावक पनि समस्यामा परेका हुन । आन्दोलन अझै कति दिन लम्बिने निश्चत नभएकाले विद्यार्थीहरुको पढाई धेरै नै प्रभावित हुने देखिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट