समाचार

गौचन हत्याको विषय संसदमा प्रवेश– सांसदहरुले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौ, २४ असोज । सांसदहरुले निर्माण व्यवसायी महासघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नको खोजी तथा अनुसन्धानमा भईरहेको प्रगतीबारे सदनलाई जानकारी गराई सुरक्षाको प्रत्याभुति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सभामुखसंग समय लिएर बोलेका अधिकांश सांसदले गृहमन्त्री स्वयम सदनमा उपस्थित भएर महासंघका अध्यक्ष गौचनको हत्या घटना बारे यथार्थ जानकारी गराउन सभामुख मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

राजनीतिक प्रभाव र धम्कीका कारण अनुसन्धान प्रभावित नहोस् भन्दै सांसदहरुले समयमै प्रभावकारी अनुसन्धान गर्न पनि सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी उनीहरुले आसन्न निर्वाचन र लगानीमा यसले पार्न सक्ने प्रभावको आकलन गर्दै आवश्यक कारवाही अघि बढाई सुरक्षाको प्रत्याभुति दिन पनि माग गरे ।

नेपाली कांग्रेसका सांसद दिपक गिरीले जनतालाई त्रसाउने र चुनावलाई प्रभाव पार्ने ढंगले गौचनको योजनावद्ध हत्या भएको भन्दै तत्काल छानविन गरि दोषिलाई कारवाही गर्न माग गर्नुभयो ।

संघीय निर्वाचन र प्रदेश निर्वाचनको पुर्व सन्ध्यामा व्यवसायीको जघन्य हत्या भएको भन्दै उहाँले यस घटनाले मुलुकमा अपराधिकरण र नागरिकको असुरक्षा बढ्दै गएको पुष्टि गरेको उल्लेख गर्नुभयो ।

घटना लगत्तै व्यवसायीलाई नम्बर नआउने फोनबाट धम्की आएको भन्दै उहाँले तुरुन्तै सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्नुभयो । सांसद रामहरि खतिवडाले गृहमन्त्रीको राजीनामा माग गर्नुभयो ।

एमाले सांसद जनाद्र्धन ढकालले गौचनको हत्याको घटनाले आम नागरिकको सुरक्षा प्रति राज्य अर्थात् सरकार गम्भीर नबनेको स्पष्ट भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी, माओवादी केन्द्रका सांसद रामनारायण विडारीले शान्ति सुरक्षाको दृष्टिले अत्यन्तै लज्जास्पद घटनाको रुपमा गौचनको हत्या भएको भन्दै संलग्नलाई हदै सम्मको सजाय दिलाई सुरक्षाको प्रत्याभुति गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, नेमकिपाका सांसद प्रेम सुवाल,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी सांसद रुक्मिणी चौधरी, नेपाली कांग्रेसका सांसद रोमी गौचन थकाली लगायत सांसदले राजधानीमा नै दिन दहाडै हत्या हुनुले शान्ति सुरक्षाको कमजोर अवस्थालाई उजागर गरेको भन्दै सुरक्षाको प्रत्याभुति गराउदै त्यसबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्रालय र गृहप्रशासन लगायतले सही ढंगले घटनाको समयमा सही अनुसन्धान हुन्छ हुदैन भन्ने सर्वत्र आशंका भएको भन्दै त्यसबारे आश्वस्त तुल्याउन पनि सांसदहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । महासंघका अध्यक्ष गौचनको सोमबार काठमाण्डौको शान्तिनगर चोकको खरिबोटमा गोली हानी हत्या भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट