समाचार

चीन लागेका परराष्ट्रमन्त्री ज्ञवालीले सार्वजनिक गरे भ्रमणका एजेण्डा

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफ्नो चीन भ्रमण विगतमा भएको सहमति कार्यान्वयन गराउन केन्द्रित हुने बताउनु भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको पारबहन सम्झौतालगायतका दुरगामी महत्वको सम्झौता कार्यान्वयनमा आफ्नो चीन भ्रमण केन्द्रित हुने बताउनु भएको हो । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री ज्ञवाली सोमबार राति चीन प्रस्थान गर्दै हुुनुहुन्छ ।

सोही विषयमा जानकारी दिन सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भ्रमणका क्रममा चिनियाँ नेतृत्वसँग नयाँ सरकार, यसले लिएका नयाँ विदेश नीति र प्राथमिकताका विषयमा पनि जानकारी गराउने एजेन्डा रहेको बताउनु भयो । चीनसँग भएको पारबहन सम्झौता, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा जोड दिने, चीनसँगको आवागमनलाई सहज बनाउन विभिन्न नाकाहरु खुलाउने विषयमा पनि छलफल गर्ने मन्त्री ज्ञवालीको योजना छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले यो वर्ष दुई देशका नेतृत्वको भ्रमण गर्ने वर्ष हुने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले भ्रमणको मिति तय भएपछि त्यसबारे औपचारिक जानकारी गराउने पनि बताउनु भयो । परराष्ट्रमन्त्री ज्ञवाली प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीका लागि चीन जान लाग्नु भएको हो । चीन बसाईका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सि जिन पीङ वा प्रधानमन्त्री लि खस्याङ कसलाई भेटने भन्ने विषय भने टुंगो लागेको छैन । टुंगो लागेपछि आवश्यक जानकारी परराष्ट्र मन्त्रालयले गराउने मन्त्री ज्ञवालीले बताउनु भयो ।

ओली नेतृत्वको सरकार बनेपछि मन्त्री ज्ञवालीको यो पहिलो चीन भ्रमण हो । चीन बसाईका क्रममा मन्त्री ज्ञवालीले चिनियाँ थिंक टयांकको गोलमेच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवाली आगामी शनिवार चीन भ्रमण पूरा गरी स्वदेश फर्कनु हुनेछ । उहाँको भ्रमण दलमा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट