समाचार

धान्य पूर्णिमाको अवसरमा लाग्ने दुप्चेश्वर मेलाको रौनक जारी

रामहरि न्यौपाने÷नुवाकोट, १६ मसिर । ऐतिहासिक धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी रहेको छ ।

दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज साँझ र भोलि पूर्णिमाको बिहानी प्रहरमा पूजा आरधना गर्न भक्तजनको सहभागिता उल्लेख्य रहेको छ । एकादशी देखि नै सुरु भएको दर्शन गर्ने भक्तजनको घुइचो लगातारको बिदाले अघिल्लो वर्षको भन्दा यसवर्ष भक्तजनको सहभागिता बृद्धि भएको छ ।

राउतवेसीका स्थानीयबासी बासे तामाङको गाई तादी नदी किनार छेउको भिरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव भगवानको रुपमा पछिल्लो दुईसय वर्षदेखि पुज्दै आएका छन् । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तान मध्ये पनि पुत्रलाभ गराउने भगवानको रुपमा विश्वास गरिदै आएको छ । अबिवाहितलाई जोडी प्रदान, पशु चौपाय नभ्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने बरदानको लागी दुप्चेश्वर महादेव प्रख्यात रहेको छ ।

समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेबनपछि छट्पटिनुभएका श्रीमहादेव शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्तीसंग पनि दुप्चेश्वर महादेवको महत्व उच्च रहेको छ । भक्तजनले दोश्रो पशुपतीनाथको रुपमा दुप्चेश्वर महादेवको पूजा, आरधना गर्ने गरेका छन् ।

मेलामा तामाङ झाक्री र ठ्याङ्ग्रो मुख्य आकर्षक रहने छ । दुप्चेश्वर गाँउपालिका–६ राउतवेसीमा अबस्थित दुप्चेश्वर महादेव मन्दिरमा धान्य पूर्णिमाको अवशरमा एकादशीबाट सुरु भएको मेलामा चतुदर्शीको रात र पूर्णिमाको दिनभर लाग्ने गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट