समाचार

नेपाल–चीन सीमाबाट दुई जंगेपिलर गायब

काठमाडौं, २५ असोज । नेपाल–चीन सीमामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन् । गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर ज्रगेपिलर गायब भएको स्थानीयले बताएका छन् ।
यसअघि प्रोकको तोम भन्ने स्थानमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन् । सिकार खेल्न गएका र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका ४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले बताए ।
‘पहरामा रातो अक्षरले एकातिर नेपालीमा र अर्कोतिर चिनियाँ भाषामा ३७ नम्बर लेखेर छाडेको छ । सिकारी र यार्सा टिप्न जानेहरु पिलर छैन भन्छन् ।’उनले भने, ‘कहाँ हरायो कहिलेदेखि हरायो, केही थाहा छैन ।’ आवतजावत गर्न कठिन ठाउँमा रहेकाले सीमास्तम्भबारे जानकारी पाउन गाह्रो भएको उनीहरुको भनाइ छ ।
साविक प्रोक गाउँपञ्चायतका पूर्वअध्यक्ष छिरिङ लामाका अनुसार तत्कालीन राजा वीरेन्द्रको पालामा सीमास्तम्भ अद्यावधिक गरिएको थियो । ‘सिमाना हेर्न चिनियाँ आएका थिए । साम्दोका बुढाहरु पनि आएका थिए । हामीलाई पनि जाऊँ भनेका थिए’, उनले भने–‘हामी कोही पनि जान सकेनौं । त्यसपछि खोजतलास पनि गरेनौं । अहिले सिकारीहरु पिलद छैन भन्छन् ।’ जंगेपिलर राखिएको ठाउँमा पुग्न तिब्बततिरबाट त घुमेर जाँदा तीन दिनभन्दा धेरै लाग्ने उनले बताए । ‘हाम्रोतिरबाट त डोरीमा झुन्डिएर सिकारी मात्र जान सक्छन् । जो पायो त्यही जान पनि सक्दैनन्, उनले भने ‘तोम भन्ने ठाउँमा ठूलो चौर छ । उहिलेको घरका गारो पनि छ ।’ यो ठाउँमा बाटो खोल्न सके तिब्बती सहर जोङ पुग्न सबैभन्दा छोटो बाटो बन्नेछ ।
त्यस्तै चुम्चेतको सीमास्तम्भ पनि हराएको त्यहाँका स्थानीय गोपाल लामा बताउँछन् । त्यहाँ ३८ नम्बरको पिलर छ । बाटो नपर्ने भएकाले स्थानीय सीमास्तम्भ रहेको ठाउँमा जाँदैनन् । सिकारी र यार्सागुम्बा टिप्न जानेहरुले भनेपछि मात्र जानकारी भएको उनको भनाइ छ । अन्नपूर्णपाेष्टमा समाचार छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट