समाचार

पुनर्निर्माणका लागि १ खर्ब ४५ अर्ब स्विकृत

काठमाडौ, २८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेट, भावी कार्ययोजना र संगठनात्मक संरचना तयार भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र आवश्यक संगठनात्मक संरचनासहितको प्रस्ताव स्विकृत गरेको हो । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणका लागि विनियोजन गरेको १ खर्ब ४५ अर्ब बजेट स्विकृत गरेको हो ।

प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिले स्विकृत गरेपछि मात्रै प्राधिकरणले विनियोजित बजेट खर्च गर्न पाउने कानुनी व्यवस्था छ । प्राधिकरणको बजेट, कार्ययोजना र आवश्यक सगठनात्मक संरचनाका सम्बन्धमा तयार पारिएको प्रस्ताव आवश्यक निर्देशनसहित निर्देशक समितिबाट स्विकृत भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनु भयो ।

प्राधिकरणले साउन १ गतेदेखि नयाँ बजेट र कार्ययोजनाका आधारमा पुनर्निर्माणको कामलाई अघि बढाउनेछ । प्राधिकरणले तयार पारेको एक वर्षे कार्ययोजनामा गुनासो व्यवस्थापन, निजी आवास निर्माण, विद्यालय, अस्पताल, सम्पदाहरुको निर्माणको कामलाई तीव्रता दिने र भूकम्प प्रभावित र अतिप्रभावित गरी ३१ जिल्लामा आवश्यक संगठनात्मक संरचना निर्माण गर्ने उल्लेख गरिएको छ ।

प्राधिकरणले तयार पारेको कार्यप्रगति विवरणमा हालसम्म ४० हजार घर निर्माण गरिएको उल्लेख गरिएको छ । प्राधिकरणले निजी आवास, विद्यालय र सम्पदा निर्माणको कामले गति लिएको दावी गरेपनि अस्पतालहरुको र्निर्माणको कामले भने गति लिन नसकेको स्विकार गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले १ लाख १० हजार घर निर्माणको चरणमा रहेकोे पनि स्पष्ट पार्नु भयो । प्राधिकरणले अब भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता पनि जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट