समाचार

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र एउटै बनाउने निर्वाचन आयोगको निर्णय

काठमाडौ, ६ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र एउटै बनाउने भएको छ । मतपत्र छपाइबारे सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले बनाएको अध्ययन कार्यदलले समयको चाप रहेकाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छुट्टाछुट्टै छाप्न कठिन हुने सुझाव दिएपछि आयोगले मतपत्र एउटै बनाउने निर्णय गरेको हो ।

समय कम रहेको र दुइटा मतपत्र छापेर जांदा निर्वाचन तयारीको सम्पूर्ण व्यवस्थापनमा असर पर्ने भएकाले आयोगको पूर्व्िनर्णयअनुसार दुइटै निर्वाचनको एउटै मतपत्र छाप्ने निर्णयमा आयोग पुगेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फ एउटै पानामा तथा प्रत्यक्षतर्फको छुट्टै अर्को पानामा मतपत्र छाप्ने निर्णय गरेको थियो । त्यसअनुसार समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो, प्रत्यक्षतर्फको सेतो कागजमा हल्का निलो रङको मसिले छापिनेछ ।

दुवै मतपत्रमा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभा सदस्य र तल्लो भागमा मतपत्र २ प्रदेशसभा सदस्य रहनेछ ।

उक्त निर्णयअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । १ करोड ७४ लाख छाप्नुपर्नेमा आइतबारसम्म १ करोड १२ लाख मतपत्र छापिसकिएको आयोगले जनाएको छ ।

त्यस्तै, मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभाको ३७ सिटको लागि ३२३ र प्रदेश सभाको ७४ सिटको लागि ४८४ जना गरी ८ सय ७ जना उम्मेद्वार चुनावी मैदानमा होमिएका छन् ।

जसमा प्रतिनिधि सभाको लागि १७ जना महिला र ३७ स्वतन्त्र उम्मेद्वार छन् भने प्रदेशसभाको लागि २४ महिला र ७० जना स्वतन्त्र उम्मेद्वार पनि चुनावी मैदानमा छन् ।

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको मंगलबार छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिन चाहनेको लागि समय दिई बांकि रहेका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट