समाचार

फेसबुक र ट्विटरमा निर्वाचन आयोगको कडा निगरानी

क–कसलाई सोधियो स्पष्टीकरण ?
काठमाडौं, २६ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन आउन केही दिन मात्र बाँकी रहेको बेला निर्वाचन आयोगले सामाजिक सञ्जालमा पनि निगरानी कडा बनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग हुन थालेपछि निर्वाचन आयोगले निगरानी बढाएको हो ।
राजनीतिक दल, सञ्चार माध्यमलाई मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि निर्वाचन आचारसंहिता लाग्ने आयोगले जनाएको छ । फेसबुक, ट्विटर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति चुनावी प्रचार प्रसारमा लागेका छन् । प्रविधिको प्रयोगले क्षणभरमै आम जनमासामा आफ्ना एजेण्डाको पहुँज पुग्ने भएकोले उनीहरुले पनि प्रविधिको भरपूर प्रयोग गरिरहेका बेला दुरुपयोग बढ्ने भन्दै आयोगले निगरानी बढाएको हो । अहिले कुनै पनि दलको कार्यकर्ता तथा समर्थकहरुका आफ्नो फेसबुक र ट्विटर चुनावमय बनेका छन् ।
यसैबीच, आचारसंहिता विपरीत फेसबुकमा स्टाटस राखेको भन्दै निर्वाचन आयोगले माओवादी केन्द्रकी सचेतक सीता नेपालीलाई स्पष्टीकरण सोधेको छ । नेपालीले आयोग प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकमा अहिलेसम्म निर्विरोध सदस्य भन्ने बेहोरामा माओवादी केन्द्र–१४५, कांग्रेस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको भन्दै २४ घन्टाभित्र प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
त्यसैगरी, निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्ष उम्मेदवारलाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै २४ घन्टाभित्र पेस गर्न भन्दै स्पष्टीकरण सोधेको छ । आयोगको निर्णयमा भनिएको छ, ‘२५ वैशाखमा तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्हसहितको टि–सर्ट निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ विपरीत मोटरसाइकल र्यालीसमेत निकाली निर्वाचन प्रचार–प्रसार गरेकाले हदैसम्मको कारबाही किन नगर्ने ? पत्र प्राप्त भएको २४ घन्टाभित्र आयोगमा स्पष्टीकरण पेस गर्न आदेशनुसार अनुरोध छ ।’

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट