समाचार

मध्यरातबाट मौन समय शुरु हुने भएपछि आज नेतालाई भ्याइ-नभ्याई

काठमाडौं, २८ बैशाख । आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनावको मौन अवधि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएसँगै दलका नेताहरुलाई भ्याइँ नभ्याइँको अवस्था आएको छ । आज चुनाव प्रचार प्रसारको अन्तिम दिन भएकोले पनि उनीहरु अरु दिनभन्दा बढी सक्रिय बन्ने भएका हुन् । शीर्ष नेताहरु पनि अन्तिम प्रचारमा जुटेका छन् ।
निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरिएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छः ‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६ को (१) मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।’
निर्देशिकाको दफा ७ को उपदफा (१) मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेद्वार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ । साथै सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न बन्देज गरिएको छ ।स्थानीय तहको पहिलो चरणको मतदान बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाको सभालाई सम्बोधन गर्दैछन् । एमाले नेता माधव नेपालले उपत्यकाको कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् । एमाले अर्का नेता झलनाथ खनालले काठमाडौं, वामदेव गौतमले पोखरामा सम्बोधन गर्दैछन् ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा जिल्लामा खटिएका छन् । नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पाँच दिन गृह जिल्ला गोरखाको चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट