समाचार

मौन अवधि शुरु, चुनावको तयारी पूरा

काठमाडौं, १९ मंसिर । दोस्रो चरणमा चुनाव हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको चुनाव हुने ४५ जिल्लामा मतदान सामग्री पुगिसकेको छ भने सबै कर्मचारी पनि खटिएको छन् ।

यसैबीच, निवार्चन अन्तर्गत दोस्रो चरणमा आगामी विहीबार हुने चुनावका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु भइसकेको छ । निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ । आयोग प्रवक्ता नवराज ढकालले राति १२ बजेबाट मौन अवधि हुने भएको जानकारी दिनुभएको हो । उहाँले यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार–प्रसार गर्न नपाइने बताउनुभयो ।

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रका लागि चुनाव हुँदैछ । निर्वाचन आयोगले आजबाट मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन गर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनमा परिचय प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था छ ।

दोस्रो चरणको चुनाव अन्तर्गत प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ गरी जम्मा ४ हजार ७ सय ८ जनाको उम्मेदवारी रहेको छ । प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी जम्मा ३ सय ३४ महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मतदानस्थलमा आजदेखि नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापनब थालिनेछ । आयोगले निर्वाचन सुरक्षाको प्रबन्ध, व्यवस्थापन र रणनीतिका विषयमा गृहमन्त्रालय र सुरक्षा अधिकारीहरुसँग निरन्तर समन्वय भइरहेको पनि जनाएको छ । मौन अवधीमा आचारसंहिता उल्लंघनका घटना हुन नदिने एक सय १३ सह–सचिव र ८८ जना उपसचिव अनुगमनमा खटिएका छन् । दोस्रो चरणको चुनावका लागि आयोगले हजार मतदाता बराबर एक जना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरेको छ ।

दोस्रो चरणको चुनाव पर्यवेक्षणका लागि कार्टर सेन्टर, जाइका, इयूलगायतका निकायका करिब चार सय पर्यवेक्षकले स्वीकृत लिएका छन् । राष्ट्रिय पर्यवेक्षकमा ५२ वटा संस्थाका ४५ हजारलाई अनुमति दिएको जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट