समाचार

यसरी हुँदैछ रोल्पामा नेकपा माओवादीको बन्द सत्र

रोल्पा, ६ फागुन । विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्र विहिवारदेखी रोल्पाको थबाङमा सुरु भएको छ ।
देशभरबाट आएका आठ सय प्रतिनिधि तथा पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएका छन् । यस्तै भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायतका देशबाट पनि प्रतिनिधिको सहभागीता छ । बन्द सत्रको पहिलो दिन विहिवार महासचिवको राजनीतिक प्रतिवेदन तथा पार्टीको विधान प्रस्तुत भएको छ ।
प्रतिवेदन तथा विधानमाथि शुक्रवार टिप्पणी तथा समूहगत छलफल हुने बताइएको छ । महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्यूरो र हरेक जिल्लाबाट १० जनाका दरले प्रतिनिधि सहभागी छन । महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई जनताकै घरमा बस्ने व्यवस्था मिलाइएको छ ।
फागुन १ गते काठमाडौको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । बन्द सत्रका लागि दुई महिनाअघिदेखि तयारी थालिएको थियो । स्वागतद्वार, ध्वजा, ब्यानर, झन्डाले थबाङ सजाइएको छ । बन्द सत्र स्थल, थबाङको ठूलो गाउँ, वरिपरिका गाउँघर, गोरेटो सफाचट पारिएको छ । थबाङको ठूलोगाउँमा राताम्मे हसिया हठौडा चिन्ह भएको झण्डाले थबाङमा आउने जो कोहीलाई पनि आजभोली जनयुद्धको स्मरण गराएको छ । यसैबीच नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गर्ने बताइएको छ ।
अहिले नेपालमा धेरै माओवादी भएकाले माओवादी पार्टीहरुको नामका पछाडी व्यक्तिको नाम झुण्डाइने गरेकाले आफ्नो पार्टीले नाम परिवर्तन गर्न लागेको नेताहरुले बताएका छन् । पार्टीको नयाँ नाम के राख्ने भन्ने बारे पनि बन्द सत्रले टुङ्गो लगाउने माओवादीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट