समाचार

विदेशी जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी परामर्श दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले बैदेशिक रोजगारीका क्रममा जेल परेका नेपालीहरुलाई निःशुल्क कानुनी परामर्श दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सोमबार बसेको बैठकले वैदेशिक रोजगारीका क्रममा जेल परेका नेपाली श्रमिकहरुलाई निःशुल्क कानुनी परामर्श दिने निर्णय गरेको हो ।

काम गर्न गएका नेपाली कामदारलाई न्याय दिलाउन राज्य आफैले कानुनी सेवा उपलब्ध गराउने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिनु भयो । श्रमको खोजिमा गएका आफ्ना नागरिकलाई न्यायका लागि परामर्श दिनु सरकारको दायित्व भएको मन्त्री विष्टको भनाई छ ।

सरकारले श्रम गन्तव्य मुलुकहरुमा श्रमिकहरुको सहयोगको लागि जनशक्ति राख्ने निर्णय पनि गरेको छ । सम्बन्धित मुलुकको भाषा जानेका विज्ञहरुलाई निश्चित कार्यभार दिएर नेपाली नियोगहरुका जनशक्ति व्यवस्थापन गर्न लागिएको पनि मन्त्री विष्टले बताउनु भयो ।

बोर्ड बैठकले बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सबै स्थानीय तहमा श्रमिकका परिवारलाई सेवा सुविधा प्रदान गर्ने विषयमा आवश्यक सुझाव दिन श्रम सचिव नेतृत्वको कार्यदल पनि बनाएको छ । त्यसैगरी हालसम्म गन्तव्य मुलुकहरुसँग भएको सम्झौता पुनरावलोकन गर्न र नयाँ सम्झौता गर्दा समेटने विषयका बारेमा सुझाव दिन पूर्वसचिव पूर्णचन्द्र भट्टराई नेतृत्वको अर्को कार्य दल पनि बनाएको छ ।

मन्त्री विष्टले बैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाहरुको शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १० दिन भित्र छुट्टै कक्ष र प्रतिक्षालय बनाउने निर्णय गरिएको पनि बताउनु भयो । बोर्ड बैठकमा उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले आवश्यक नीतिगत र संरचनागत सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट