समाचार

राष्ट्रियसभा सदस्यमा संयुक्त उम्मेदवार छनौटको मापदण्ड तयार पार्न दाहाल र ओलीको निर्देशन

काठमाडौ, २६ पुस । वाम गठबन्धनले प्रदेश सभा र स्थानीय तहको दुवै तर्फ प्राप्त गरेको मत संख्यालाई आधार बनाएर राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउने भएको छ ।

पार्टी एकता संयोजन समितिले मंगलबार गठन गरेको ६ सदस्यीय कार्यदललाई बुधबार दुवै पार्टीका अध्यक्षले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी र नेतृत्व चयनका लागि मुख्य रुपमा प्रदेशसभा र स्थानीय तहको मतलाई आधार बनाई नाम सिफारिस गर्न सुझाव दिएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित बुधबार विहान एमाले अध्यक्ष केपी ओली निवासमा भएको छलफलमा दुवै अध्यक्षले प्रदेश र स्थानीय तहमा प्राप्त गरेको मत संख्या, व्यक्तित्वको योगदान र दुवै पक्षको शक्ति सन्तुलनलाई आधारमा राखेर नाम सिफारिस गर्न कार्यदलका सदस्यलाई सुझाव दिएका हुन् ।

पार्टी एकतालाई बल पुग्ने र प्रभावकारी रुपमा सरकारको नेतृत्व गर्न सक्ने गरि उम्मेदवारी सिफारिस गर्न कार्यदललाई निर्देशन भएको एमाले बाट कार्यदलमा सदस्य रहनुभएका नेता शंकर पोख्रेलले जानकारी दिनुभयो ।

कार्यदलको कार्यादेश बारे दुवै पार्टीका अध्यक्षसंग छलफल भएको र नेतृत्वबाट आफुहरुलाई काम गर्ने आधार र त्यसबारेको आवश्यक निर्देशन प्राप्त भएको माओवादी केन्द्रबाट कार्यदलमा सदस्य रहेका नेता बर्षमान पुनले जानकारी दिनुभयो ।

राष्ट्रियसभा, प्रदेशका मुख्य मन्त्री, सभामुख लगायत पदाधिकारीको व्यवस्थापनका विषयमा कार्यदलभित्र प्रारम्भीक छलफल भएको र भोलि देखि सघन रुपले छलफल अघि बढाईने उहाँले बताउनुभयो । उहाँले पार्टी एक हुने ढंगले अघि बढीरहेका बेला मुख्य गरी व्यक्तित्व, अनुभव र सन्तुलनको पक्षलाई प्रमुख आधार बनाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिने बताउनुभयो ।

मंगलबार सम्पन्न पार्टी एकता संयोजन समितिले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा एमालेबाट ईश्वर पोख्रेल, सुवास नेम्वाङ्ग, शंकर पोख्रेल र माओवादी केन्द्रबाट बर्षमान पुन, मात्रिका पौडेल र रामबहादुर थापा बादल सदस्य छन् । ओली निवासमा भएको छलफलमा मात्रिका पौडेल बाहेक अन्य कार्यदलका सदस्य सहभागी थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट