समाचार

संविधान संसोधनमा सहयोग गर्न सत्तारुढ दलको प्रस्ताव एमालेद्वारा ठाडै अस्विकार

काठमाडौ, २७ असार । संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास आज पनि असफल भएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा खुला छलफल गर्न सकिने पार्टीको अडान समेत राख्नु भयो ।

उहाँले नेपालको राष्ट्रहित, सामाजिक सद्भाव र समग्र राष्ट्रिय एकतामाथि आघात हुने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित गर्न नसकिने पूर्ववत अडानबाट पछि हट्ने अवस्था नरहेको पनि स्पष्ट पार्नु भयो ।

बैठकमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान भने एमाले सहमत हुनुपर्ने धारणा राख्नु भएको थियो । सत्तारुढ काँग्रेस नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने राजनीतिक वातावरण बनाउन पनि संविधान संशोधन प्रस्तावमा एमालेलाई साथ दिन पुनः आग्रह गर्नु परेको स्पष्ट पार्नु भयो ।

बैठकमा प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न पनि सत्तारुढ दलहरुको ध्यानाकर्षण गराएको थियो । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले आयोग गठन गर्न ढिलाई नगर्न सरकारलाई सुझाव दिइएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनु भयो ।

एमालेले सरकारलाई संविधान संशोधन नभई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दै आएको छ । यता, सत्तारुढ काँग्रेस, माओवादी केन्द्रले भने राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा जाने राजनीतिक वातावरण बनाउन संविधान संशोधन गर्नैपर्ने तर्क गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट