जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिको निर्वाचन आज, आजै परिणाम र प्रमाणपत्र

राष्ट्रपतिको निर्वाचन आज, आजै परिणाम र प्रमाणपत्र

काठमाडौं : मुलुकले आज नयाँ राष्ट्रपति पाउने भएको छ।  राष्ट्रपति विद्यादेवि भण्डारीको कार्यकाल फागुन २८ गते सकिन लागेकोले आज राष्ट्रपतिको निर्वाचन हुन लागेको हो।

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रपतिको निर्वाचनमा  प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको जानकारी दिँदै मतदानका लागि संघीय संसद् भवनको ल्होत्से हलमा दुईवटा मतदान केन्द्र स्थापना गरिएको छ।

ल्होत्से हलभित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको छ।  संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुनेछ। मतदान बिहान १० बजेदेखि सुरु भइ ३ बजेसम्म हुने छ भने ३ बजेपछि लामबद्ध हुन आउने मतदातालाई मतदानका लागि प्रवेश निषेध गरिने छ।  अपराह्‌न ४ बजेदेखि मतगणनाको कार्य सुरु गरेर साँझ ७ बजेसम्म गणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनको परिणाम सार्वजनिक लगत्तै नयाँ राष्ट्रपतिलाई प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते राति १२ बजेसम्म रहेकाले त्यसको भोलिपल्ट अर्थात् २९ गते नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुनेछ। भण्डारी त्यसैदिन शीतलनिवास छाडेर निजी निवास चपली जाने तयारीमा छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भने आज निर्णय गर्ने भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका