जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति र प्रधानमन्त्रीद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

फाल्गुनन्दको जयन्तीका अवसरमा आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरेर उनीहरुले सामाजिक रूढीवादीको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिएको मार्गनिर्देश अनुशरणीय रहेका बताएका छन् ।

सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियान्ताको रुपमा समाज सुधारक भई कार्यसमेत गरेको उल्लेख गरेका छन्। उनले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

‘फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको छ, उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ’, सन्देशमा उनले सन्देशमा भनेका छन् ।

उपराष्ट्रपति यादवले फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र उनले अवलम्बन गरेको सत्मार्ग किरात धर्म र संस्कृतिका लागि मात्रै नभई सिङ्गो नेपाली समाज र अन्य धर्मावलम्बीका लागि पनि उत्तिकै मार्गदर्शन गर्ने महत्वपूर्ण पक्ष भएको बताएका छन्।

फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ–आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्किलोपन, आडम्बर र महङ्गा कुसंस्कृतिलाई मितव्ययी एवम् संयमित बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री दाहालले समाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनको उपदेशको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् । फाल्गुनन्दले अगाडि सारेको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको उनले बताएका छन् ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि निर्वाह गरेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका