खेलकुद

कप्तान पारस स्वयम् सेवक नेपालको सदुभावना दुत

काठमाडौ, १८ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम सेवक नेपालको सद्भावना दूतमा नियुक्त हुनुभएको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि स्वयम सेवक युवाहरुलाई सक्रिय बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कप्तान खड्कालाई स्वयमसेवक नेपालको सद्भावना दूतमा नियुक्त गरेको हो ।
प्राधिकरणको आज बसेको बैठकले भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्वासमा सहयोगका लागि एक लाख स्वयम सेवक युवाहरुको सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ खड्कालाई सद्भावन दूत नियुक्त गरिएको प्राधिकरणले जनाएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनर्निर्माणलाई चुस्त बनाउन नेपाली युवाहरुको जोशलाई सदुपयोग गर्ने उद्देश्यले खड्कालाई सद्भावना दूत बनाइएको राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले जानकारी दिनु भयो ।
राष्ट्रिय स्वयम सेवक नेपालको सद्भावना दूतमा नियुक्त हुनुलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भूकम्पपछिको पुनर्निमाण तथा पुनर्वासका लागि स्वयम सेवक युवाहरुको सञ्जाल बनाएर सत्कर्म गर्ने मौका पाएको भन्दै कुशलतापूर्वक सामाजिक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय स्वयम सेवक नेपालले नेपाली युवाहरुलाई स्वयम सेवाप्रति आकर्षित गर्दै देशमा आइपर्ने विभिन्न प्रकोपका बेला पीडितहरुलाई सहयोग गर्दै आएको छ । ३७ जिल्लामा विस्तार भएको सञ्जालले अहिलेसम्म ६ सय ९६ वटा भूकम्पप्रतिरोधी घर बनाइसकेको छ । त्यस्तै सञ्जालले दुई हजार भन्दा बढी भूकम्प पीडितलाई सुरक्षित आवासको बन्दोबस्त गर्नुका साथै ११ सय भन्दा बढी भूकम्पपीडित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिसकेको छ । सञ्जालले नेपाली सेना, नेपाल प्रहरी र नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको साझेदारीमा सामाजिक काम गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा