खेलकुद

नेपाली चेली हङकङविरुद्ध मैदानमा उत्रिँदै

काठमाडौं, ११ मंसिर । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्याण्डमा जारी एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्न असफल नेपालले तेस्रो स्थानको लागि हङकङसँग खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल ट्रेडथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान साढे ८ बजे सुरु हुनेछ ।
यस्तै छनोटको उपाधिको लागि शिर्ष दुई टोली आयोजक थाइल्याण्ड र युएईले सोमबार नै प्रतिस्पर्धा गर्दैछन् । थाइल्याण्ड र युएईले नेदरल्याण्डमा हुने विश्वकप छनोटको ग्लोबल छनोटमा समेत स्थान बनाएको छ ।
राउण्ड रोबिनको आधारमा जारी एसिया छनोटमा नेपाल तेस्रो स्थानमा रहदै तेस्रो स्थानको लागि हुने प्ले अफ छनोट भएको हो । यस्तै हङकङ चौथो स्थानमा रहदै नेपालसँग प्ले अफ खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकी नेपाल र हङकङ नेदरल्याण्डमा हुने ग्लोबल छनोटमा पुग्न असफल भैसकेको छ ।
छनोटको अन्तिम खेलमा चीनलाई ५० रनले पराजित गरेपनि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
ग्लोबल छनोटमा पुग्न नेपाललाई छनोटको शिर्ष दुईमा पुग्नुपर्ने हुन्थ्यो । तर, छनोटमा नेपाल ६ अंक जोडेर तेस्रो स्थानमा सिमित भयो ।
नेपालले प्रतियोगिताको दुई खेलमा जित र एक हार बेहोर्दा दुई खेलमा अंक बाँडेको थियो ।  वर्षाको कारण नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो । तेस्रो खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । नेपालले चौथो खेलमा भने मलेसियालाई ३३ रनले पराजित गरेको थियो ।
छनोटमा आयोजक थाइल्याण्ड ९ अंकसहित शिर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्दा ८ अंक जोडेको युएईले पनि ग्लोबल छनोटमा स्थान पक्का गर्यो ।
ग्लोबल छनोटको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् । छनोटमा हङकङ ५ अंकसहित चौथो स्थानमा रहदै तेस्रो स्थानको लागि हुने प्ले अफमा पुगेको हो । छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा र सबै खेल गुमाएको चीन अन्तिम स्थानमा रहेर प्रतियोगिता टुंगाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही खेलकुदबाट

ताजा