अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस

title
बुधबार, भदौ २०, २०७५

काठमाडौँ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिश गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वित्त आयोगका पदाधिकारी सिफारिस गर्न बसेको परिषद्को बैठकले वित्त आयोगका पदाधिकारी भने अर्को बैठकबाट सिफारिस गर्ने निर्णय समेत गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरेको अब संसदीय सुनुवाईपछि नियुक्तिको बाटो खुल्नेछ । प्रधानमन्त्रीको अध्यक्ष रहने परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेतासहित प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री तथा उपसभामुख र सर्वोच्च अदालतको प्रधानन्यायाधिश सदस्य रहने व्यबस्था छ ।